सैन्य अपरेसनमा रहेका नेपालीलाई सहयोग तथा पुनःस्थापना गर्न सहजीकरण गर्नेछौं : अध्यक्ष मिलन कट्टेल
काठमाडौँ — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए), रुसमा खोटाङका ३३ वर्षीय सिताराम (मिलन) कट्टेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । उनी यसअघि महासचिव थिए ।
मस्कोमा सम्पन्न १२ औं महाधिवेशनमा सहमतिमा छनोट भएको कार्यसमितिको उपाध्यक्षत्रय अमितकुमार कर्ण, संज्ञान कार्की र डा. प्रनिल प्रधान र महासचिव प्रविण खातीवडा चयन भएका छन् ।
सचिव खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्ष रामबाबु पाण्डे र सहकोषाध्यक्ष यमबहादुर थापा, युवा संयोजक गिभ्सन ढकाल, महिला संयोजक हेमाकुमारी 'कला' पोखरेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरू क्रमशः मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल रहेका छन् ।
एनआरएनए आईसीसी सदस्यमा डा. मना मूर्ति भुर्तेललाई चयन गरिएको छ । ‘रुसमा रहेका नेपालीको हितको संरक्षण र प्रवर्द्धनमा हामीले काम गर्नेछौं,’ अध्यक्ष कट्टेलले भने,‘हामी आपतकालीन स्वास्थ्य कोष स्थापना गर्नेछौं । रुसीको साझेदारीमा व्यापारिक सम्भावनाको प्रवर्द्धन गर्नेछौं ।’
उनले विशेष सैन्य अपरेसनमा रहेका नेपालीलाई सहयोग तथा पुनःस्थापना गर्न सहजीकरण गर्ने बताए ।
