एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित

शनिबार सम्पन्न निर्वाचनमा कुँवरले ६८३९ मतसहित अध्यक्षमा विजय प्राप्त गरे, १६ हजार मतमध्ये १३७०१ मत खसेका थिए।

श्रावण १०, २०८२

नारायण खड्का

Santosh Kunwar elected president of NRNA Australia

What you should know

अस्ट्रेलिया — एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । निवर्तमान महासचिव कुँवरले अध्यक्षका प्रत्यासी भैरव ढकाल र संजीव गोर्खाली ढकाललाई पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् । 

एनआरएनए अस्ट्रेलियाले शनिबार अनलाइनमार्फत ६ राज्य तथा दुई टेरिटोरीमा निर्वाचन सम्पन्न गरेको थियो । करिब १६ हजार मतमध्ये १३ हजार ७ सय १ मत खसेको थियो । 

निर्वाचन आयोगका प्रमुख डिल्ली ढकालका अनुसार अध्यक्षमा निर्वाचित क्युन्सल्यान्डका कुँवरले ६ हजार ८ सय ३९ मत ल्याएका छन् भने अध्यक्षका अर्का दुई प्रत्यासी पर्थका ढकालले ३ हजार ७ सय २७ मत र डार्बिनका गोर्खाली ढकालले २ हजार १ सय २५ मत ल्याएका थिए । कुँवरले अन्तर्रास्ट्रिय समन्वय समितिमा दरिलो मानिएको अस्ट्रेलियाको एनआरएनएलाई दुई वर्ष नेतृत्व गर्नेछन् । 

निर्वाचन नतिजाअनुसार उपाक्ष्यक्षमा बबिन मिश्र, महासचिवमा चुणामणि सापकोटा, सचिवमा कल्याण खड्का, कोषाध्यक्षमा निजन चौलागाईं निर्वाचित भएका छन् । यसैगरी अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा बिष्णु तिवारी, दीपक अधिकारी, दीपक बस्नेत, हरिकृष्ण अधिकारी, निराजन पोखरेल, राजेश केसी, सुशील पोखरेल र साईबल न्यौपाने निर्वाचित भएका छन् । 

नारी निकुञ्ज अस्ट्रेलियाको संयोजकमा दक्षिण अस्ट्रेलियाकी रिज्नु अधिकारी निर्वाचित भएकी छिन् भने युवा संयोजकमा पुकार घिमिरे चुनिएका छन् । 

न्यु साउथ वेल्स राज्य संयोजकमा उषाकिरण बरिया पोखरेल निर्वाचित भएकी छिन् भने भिक्टोरियामा महादेव धानुक, दक्षिण अस्ट्रेलियामा थिर गुरुङ, पश्चिम अस्ट्रेलियामा हरिवंश सञ्जेल, नर्दन टेरिटोरीमा त्रिलोचन सापकोटा र राजधानी अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा ललित मल्ल संयोजक पदमा निर्वाचित भएका छन् । यसपहिल्यै क्युन्सल्यान्डमा अतुल खड्का र तास्मानियामा सुजन वाग्ले निर्विरोध चयन भएका थिए । अध्यक्षमा विजयी बनेका कुँवरले सबैको साझा एनआरएनए बनाउने र सबैसँग मिलेर समुदायका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नारायण खड्का खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully