एनआरएनए अस्ट्रेलियाको नेतृत्वमा त्रिपक्षीय प्रतिस्पर्धा

श्रावण ४, २०८२

नारायण खड्का

A tripartite competition led by NRNA Australia

What you should know

अस्ट्रेलिया — प्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाको नेतृत्वमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। आगामी शनिबार हुने निर्वाचनमा चुनिनेले दुई वर्से कार्यकाल सम्हाल्नेछन्।

निर्वाचन आयोगका उपाध्यक्ष राजु उपाध्यायका अनुसार क्युन्सल्याण्डबाट सन्तोष कुँवर, पश्चिम अस्ट्रेलियाबाट भैरव ढकाल र नर्दन टेरिटोरीबाट संजीव गोर्खाली ढकालले उम्मेदवारी दिएका छन् । 

नेतृत्वका लागि दाबी गरिरहेका तीनैले एनआरएनएको विभिन्न कार्यसमितिमा रहेर काम गरिसकेका छन्।  सन्तोष  एनआरएनए अस्ट्रेलियाको वर्तमान महासचिव हुन् भने संजीव डार्बिनका संयोजक र एनआरएनए अस्ट्रेलियाको वर्तमान उपाध्यक्ष हुन्।

त्यस्तै, भैरव एनआरएनए अस्ट्रेलियामा उपाध्यक्षको अनुभव संगालिसकेका व्यक्ति हुन् । अध्यक्षका दाबेदार तीनैजना विभिन्न ब्यवसायमा संलग्न छन्। ढकालको पर्थका होटल व्यवसाय छ भने कुँवरको ब्रिसबेनका विद्यार्थी परामर्श तथा माइग्रेसन क्षेत्रको ब्यवसायी । सञ्जीव पनि स्थानीय क्षेत्रमा व्यवसायमा संग्लन छन् ।  

निर्वाचन आयोगका अनुसार उपाध्यक्ष पदका लागि बबिन मिश्र र रमेश पौडेलले उम्मेदवारी दिएका छन् भने महासचिवका लागि अर्जुन गौतम, भरतमणि देवकोटा र चुडामणि सापकोटाले नाम दर्ता गराएका छन्। यसैगरि कोषाध्यक्षका लागि लुना शिवाकोटी र निजन चौलागाई र सचिवका लागि गणेशराज गौतम र कल्याण खड्काले उम्मेदवारी दिएका छन् ।

एनआरएनए अन्तर्गतको नारी निकुञ्ज अस्ट्रेलियाको संयोजकमा रिज्नु अधिकारी र रत्ना गौतमको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । ८ जनाको अन्तर्राष्ट्रिय कमिटी सदस्यमा १५ जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षका उम्मेदवार बनेका तीनैजनाले एनआरएनएलाई अस्ट्रेलियामा रहेका सबै नेपालीको साझा संस्थाका रुपमा अझ विकास गर्ने र आफ्नो संस्था रहेको भरोसा दिलाउने चुनावी नारा बनाएका छन् । यहाँका नेपालीलाई परेका समस्या समाधानका लागि संस्थालाई अझ सुदृढ र परिष्कृत बनाइने उनीहरुले बताउँदै आएका छन् ।

करिब १६ हजार मतदाता रहेको एनआरएनए अस्ट्रेलियाले आफ्नो मतदान पूर्णरुपमा अनलाईन मार्फत गर्दैछ । निर्वाचनबाट २१ जना कार्यसमिति सदस्य चयन हुनेछन् जसका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् । अहिलेसम्म तास्मानिया र क्युन्सल्याण्डमा संयोजक सहितका बहुमत सीटमा निर्विरोध रुपमा कार्यसमिति चयन भइसकेको निर्वाचन आयोगका उपाध्यक्ष उपाध्यायले जानकारी दिए ।

अस्ट्रेलियास्थित एनआरएनएको निर्वाचनमा यसपटक महत्वपूर्ण र जरुरी ठानिएको पासपोर्ट घुम्ती शिविरको मुद्दा भने कुनैपनि अध्यक्षका उम्मेदवारले उठाएका छैनन् । यसअघि एनआरएनए अस्ट्रेलियाले सरकारले तोकेको भन्दा अतिरिक्त रकम लिएर पासपोर्ट शिविर चलाएपछि विवादमा तानिएको थियो ।  एनआरएनए अस्ट्रेलियाका मुख्य पदका उम्मेदवारले निशुल्क पासपोर्ट शिविर सञ्चालन गरिने एजेण्डा ल्याउने आशा गरेपनि कसैले पनि यो बिषय उठाएका छैनन् । 

एनआरएनए अस्ट्रेलियाको निर्वाचन तयारी कुनै दलीय निर्वाचनभन्दा कम देखिएको छैन् । यहाँ सक्रिय रहेका जनसम्पर्क समिती अस्ट्रेलिया र प्रवासी नेपाली मञ्चका तर्फबाट अनौपचारिक रुपमा अलग-अलग प्यानलमा उम्मेदवारी घोषणा गरेका छन्।

यद्यपि उम्मेदवारले भने एनआरएनएमा कुनै राजनीति नरहेको प्रष्ट पार्दै मतदातालाई आफ्नो पक्षमा मत हाल्नका लागि अस्ट्रेलियाका हरेक राज्यमा पुगेर मत मागिरहेका छन् । 

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully