न्युयोर्कमा नेपाली जनजातिको सांस्कृतिक साँझ

असार १५, २०८२

सुदीप शिवाकोटी

Cultural Evening of Nepali Tribes in New York

अमेरिका — नेपालका आदिवासी जनजाति समुदायले अमेरिकाको न्युयोर्कमा मौलिक संस्कृति प्रस्तुत गरेका छन् ।

न्युयोर्कको उडसाइडमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले शुक्रबार आयोजना गरेको आदिवासी जनजाति सांस्कृतिक साँझमा आदिवासी जनजातिका १८ समूहले मौलिक संस्कृति र नृत्य प्रस्तुत गरे । डम्फु र टुंगना बजाउँदै तामाङ सेलो र डोलक बजाउँदै नाचिएको सोई ढोले सोईले नेपालको सांस्कृतिक विविधतालाई अमेरिकामा जीवन्त बनाएको थियो । त्यस्तै कुमारी नाच, शेर्पा नाचसँगै मगर संस्कृति झल्किने नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रममा सहभागीहरु मौलिक भेषभूषामा उपस्थित भएका थिए ।

सन् २००५ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ न्युयोर्कको सबैभन्दा ठूलो नेपाली संस्था हो । ग्लोबल जनजाति महासंघको नाममा गठन भएको यो संस्था सन् २००७ मा नेपाल आदिवासी जनजाति महासंघ बनेको हो । महासंघले नेपालको कला, संस्कृति, भेषभूषा, परम्परा र भाषा संरक्षण, संवर्धन एवं पुस्तान्तरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ भने नेपालमा विभिन्न परिस्थितिमा सहयोग गरिरहेको छ ।Cultural Evening of Nepali Tribes in New York

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सञ्चालन भएको सांस्कृतिक साँझको समन्वय एवं व्यवस्थापन महासचिव दीपक चौधरीले गरेका थिए । कार्यक्रममा न्युयोर्क महानगरका स्थानीय प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । फिप्नालाई न्युयोर्क महानगर डिस्ट्रिक्ट ३० का काउन्सिल म्यान रोबर्ट होल्डेनले सर्टिफिकेट अफ रिकग्निसन हस्तान्तरण गरेका थिए । 

फिप्नाका अध्यक्ष गुरुङले अमेरिकामा रहे पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिने भन्दै दोस्रो पुस्तालाई पनि आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउने दाबी गरे । अध्यक्ष गुरुङले जुलाई ९ मा न्युयोर्कमा आदिवासी जनजाति दिवसको आयोजना गरिएको र यो दिवसलाई ऐतिहासिक बनाउन सबैलाई आग्रह गरे ।

महासचिव चौधरीले सम्पूर्ण संघसंस्थाहरुलाई अझै सक्रिय भएर लाग्न आग्रह गर्दै त्यसको नेतृत्वका लागि फिप्ना सधैं तयार रहेको बताए ।

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully