न्युयोर्कको सडकमा नेपाली मेला

असार ९, २०८२

सुदीप शिवाकोटी

Nepali fair on the streets of New York

अमेरिका — अमेरिकाको मुख्य सहर न्युयोर्कमा शनिबार एकदिने नेपाली मेला आयोजना गरिएको छ । न्युयोर्कको ज्याक्सन हाइटस्थित सडकमा नेपाली खाना, संस्कृति र मौलिकताको प्रचार गर्ने उद्देश्यले ‘हिमालयन स्ट्रिट एवम् हाम्रो मेला’ आयोजना गरिएको हो ।

निम्जी, ओम र दिपेनको संयुक्त आयोजनामा आयोजित उक्त मेलामा नेपाली खाना, मौलिक वस्तुहरू, सांस्कृतिक पहिचान झल्काउने सामग्रीहरू साथै नेपाल प्रतिनिधित्व गर्ने विभिन्न स्टलहरू राखिएका थिए । ३७ वटा स्टल रहेको मेलामा नेपाली, भारतीय, दक्षिण एसियालीमूलका समुदायसँगै पर्यटकहरूको समेत घुइँचो लागेको थियो ।

मेलामा नेपाली सांगीतिक ब्यान्ड र स्थानीय नेपाली मूलका कलाकारहरूले प्रस्तुत गरेको कार्यक्रमले अमेरिकी नागरिकहरू समेत झुमेका थिए ।

मेलामा न्युयोर्क राज्यका सांसद स्टेफन रागा र क्वीन्स नगर अध्यक्ष डोनोभान रिचर्ड्स जुनियरको सह प्रायोजन तथा न्युयोर्कस्थित नेपाल सरकार पर्यटन प्रवर्द्धकको सहकार्य रहेको थियो । मेलालाई प्रभावकारी बनाउन ‘एनवाई नेपाली काम पोस्ट’ र ‘च्याम्पियन मार्सल आर्ट्स क्लब’ले पनि सहकार्य गरेका थिए ।

नेपालको पर्यटन प्रवर्द्धन, अमेरिकामा नेपाली वस्तुहरूको पहुँच विस्तार तथा स्थानीय नेपाली व्यवसायको प्रवर्द्धनका लागि मेला आयोजना गरिएको आयोजक दिपेन्द्र लामाले जानकारी दिए । मेलाले नेपाली व्यवसायी तथा नेपालका मौलिक वस्तुहरूको व्यापारलाई प्रत्यक्ष रूपमा फाइदा पुर्‍याएको दाबी पनि उनले गरे ।

मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको न्युयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले बताए । ‘आगामी दिनमा आयोजना गरिने मेलालाई थप प्रभावकारी बनाइनेछ,’ उनले भने, ‘अर्को पटक स्टल थप्नेछौँ र स्थानीयको सहभागिता अझै बढाउनेछौँ ।’

मेलामा प्रदर्शन गरिएका वस्तुहरू तथा नेपालका मौलिक खानाले स्थानीय नागरिकलाई आकर्षित गरेको आयोजकहरूको दाबी छ । मेलामा नेपालसम्बन्धी विभिन्न जानकारीमूलक पुस्तकहरू समेत वितरण गरिएको थियो । मेला स्थानीय सरकारका प्रतिनिधि तथा राज्यसभा सांसदहरूले अवलोकन गरेका थिए ।

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully