पेरिसमा मनाइयाे कुमारीको रथ र लाखे नृत्यसहित नेपाली मेला

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Nepali Fair with Kumari's Rath and Lakh Dance celebrated in Paris

काठमाडौँ — नेपालका विभिन्न जनजातिको वेशभूषा तथा संस्कृति झल्काउने नृत्य प्रदर्शन र विभिन्न नेपाली परिकारसहित पेरिसमा २०औं नेपाली मेला आयोजना गरिएको छ ।

पेरिसको ब्वा द भाँसेन पार्कस्थित बुद्धको विशाल मूर्ति रहेको पार्कमा नेपाली सांस्कृतिक गृहले नेपालको प्रचार–प्रसार गर्न मेला आयोजना गरेको हो । शनिबार र आइतबार चलेको मेलामा नेपालीलगायत सयौं फ्रान्सेली सहभागी भए ।  

काठमाडौं उपत्यकाको मौलिक पर्व कुमारीको रथका साथै लाखे नाचले नेपाली र फ्रान्सेलीलाई विशेष आकर्षण गर्‍यो । मम, पानी रोटी, दालभात, सेलरोटी, चनाचटपटे, पकाउडा, लड्डु, पानीपुरी, अचारलागयत नेपाली परिकारले नेपालको यात्रा सम्झाएको फ्रान्सेलीहरुले बताए ।  
नेपालका विविध क्षेत्रको प्रवद्र्धन र पर्यटनको प्रचार गर्न नेपालबारे विशेष विज्ञाता हासिल गरेका फ्रान्सेली र नेपालीले तामाङ संस्कृति, रोल्वालिङ क्षेत्र, नेपालको भूकम्पीय जोखिम, नेवारी संस्कृति, समुदायलगायत आधा दर्जनभन्दा बढी विषयमा प्रस्तुति दिए ।  

Nepali Fair with Kumari's Rath and Lakh Dance celebrated in Paris

डोको, खर्पन, डालो, ढिकी, चर्खे पिङ, खाद्य सामग्रीलगायत नेपालका विभिन्न हस्तकलाका सामग्री प्रदर्शन र बिक्री गरिएको थियो । ‘भित्र झट्ट पस्दा त मलाई नेपालको कुनै गाउँ पसे जस्तो अनुभव भयो,’ सात पटका नेपाल भ्रमण गरेका फ्रान्सेली पत्रकार माथ्यु आलेख्जेन्डरले कान्तिपुरसित भने ।

तामाङ सेलो, झ्याउरे, लोकगीतलगायत दर्जनौं गीतमा देखाइएको नृत्यले फ्रान्सेलीलाई विशेष आकर्षण गरेको थियो । साँझ सुकर्म सांगीतिक समूहले सांगीतिक साँझसमेत आयोजना गरेको थियो ।

Nepali Fair with Kumari's Rath and Lakh Dance celebrated in Paris

पेरिसस्थित नेपाली राजादूत सुधीर भट्टराईले नेपाली मेलाको उद्घाटन गर्दै नेपालमा १४२ जातजाति रहेको र त्यति नै भाषा बोलिने भएकाले पर्यटकका लागि विश्वमै एक आकर्षक थलोका रुपमा रहेको दाबी गर्दै फ्रान्सेलीहरुलाई नेपाल घुम्न आग्रह गरे। नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिका विविधता र नेपालीले गर्ने अतिथि सत्कार विश्वकै अब्बल र अनुपम रहेको उनको भनाइ छ ।  

नेपाल, नेपाली संस्कृति र सम्पदाको प्रचारप्रसार गर्न र आफ्नो संस्कृति बालबालिकामा पुस्तान्तरण गर्न पनि मेला आयोजना गरिएको नेपाली सांस्कृतिक गृहका अध्यक्ष नन्द कुमार थेबेले कान्तिपुरलाई बताए ।  

Nepali Fair with Kumari's Rath and Lakh Dance celebrated in Paris

कान्तिपुर

Link copied successfully