काठमाडौँ — साउदी अरबको निर्माण क्षेत्रमा १ लाख ३३ वटा रोजगारदाता कम्पनी मार्फत १६ लाख आप्रवासी श्रमिक काम गरिरहेको साउदी सरकारले जनाएको छ । त्यसमा नेपाली श्रमिकको हिस्सा भने खुलाइएको छैन ।
साउदीमा जारी ‘विश्व आयोजना व्यवस्थापन मञ्च (जीपीएमएफ)मा सम्बोधन गर्दै साउदीका नगरपालिकामन्त्री माजिद अल–हज्जलले साउदीको एकीकृत सहरी विकासलाई सहयोग गर्न १ लाख ३३ वटा कम्पनीले काम गरिरहेको वताए ।
उनले निर्माण क्षेत्रमा आबद्ध भएका १६ लाख श्रमिकले साउदी सरकारको २०३० को योजनालाई कार्यान्वयन गर्न मद्दत पुगिरहेको बताए । ‘साउदीको आर्थिक, सामाजिक र विकासलाई अगाडि बढाउन हामीले एउटा मार्गचित्र बनाएका छौं । त्यसलाई सहयोग पुगिरहेको छ,’ उनले भने ।
