न्यूयोर्कको सडकमा घन्कियो पञ्चेबाजा

जेष्ठ ५, २०८२

सुदीप शिवाकोटी

Panchebaza was heard on the streets of New York

अमेरिका — आइतबार अमेरिकाको व्यस्त सहर न्यूयोर्कको मुख्य क्षेत्र म्यानहाटन पञ्चेबाजाले गुञ्जायमान बन्यो । नेपालको परम्परा, भेषभूषा र संस्कृति चिनाउन म्यानहाटनको सडकमा घन्किएको पञ्चेबाजासँगै गुञ्जिएको राष्ट्रिय गानले सबैको ध्यान खिचेको थियो । 

ढाका टोपी, दौरा सुरुवाल र गुन्यु चोलीमा सजिएका सयौँ नेपालीले नेपाल मात्र चिनाएनन् नेपालको संस्कृति र परम्परालाई विश्वकै विकसित सहरमा प्रस्तुतसमेत गरेका थिए । सन् २०१६ देखि न्यूयोर्कमा मनाइँदै आएको नेपाल डे परेड अन्तर्गत यस वर्ष यस्तो प्रस्तुति गरिएको थियो ।

न्यूयोर्कमा रहेका नेपाली जनसमुदायले पञ्चेबाजासँगै, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलो गुञ्जयमान भएको थियो । परेडमा नेपाली आबद्ध करिब १२ वटा संघसंस्थाका ब्यानरसहित सयौँ नेपाली र नेपाली अमेरिकीहरुको उपस्थिति रहेको थियो । 

गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघ संस्थाको सहकार्यमा नेपाल डे परेड आयोजना गरिएको हो । प्रत्येक वर्ष नेपालको गणतन्त्र दिवसको अवसरमा नेपाल डे परेड मनाइने गरिएको नेपाल सरकारका न्यूयोर्क पयर्टन प्रवर्द्धक गोकुल श्रेष्ठले बताए ।

‘हामीले नेपालीको पहिचान, संस्कृति, पराम्परासँगै अमेरिकामाझ नेपाल चिनाउने उद्देश्यले नेपाल डे परेड मनाउँदै आएका छौं’, उनले भने, ‘हाम्रो लागि यो एक मुख्य पर्व हो, हाम्रो शान हो ।’ श्रेष्ठले न्यूयोर्क विश्वभरका पर्यटक आउने सहर भएकोले यहाँ गरिएको प्रस्तुतिले विश्वका विकसित मुलुकका पर्यटकको नजरमा पर्ने दाबीसमेत गरे । नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको साङ्गीतिक प्रस्तुतिले म्यानहाटन सहरलाई नेपालमय बनाएको उनले बताए ।

नेपाली पोसाक, झन्डा र ब्यानरसहित नाचगान र बाजा बजाउँदै सहर परिक्रमा गरी आयोजना गरिएको सभामा न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरूले देश प्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्रिय भाव प्रकट गरेका थिए । 

न्यूयोर्क सहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले उद्घाटन गरेको परेडमा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । परेडको उद्घाटन गर्दै मेयर एडम्सले न्यूयोर्कमा नेपालीले आफ्नो संस्कृतिसँगै आफ्नो उपस्थितिलाई समेत दरिलो बनाएको बताए । परेडमा नेपालको पर्यटकीय गन्तव्यसहित, सगरमाथा, लुम्बिनी, जनकपुर एवं पशुपतिनाथको ब्यानर प्रदर्शन गरिएको थियो । स्थानीय एवं पर्यटकहरूले निकै चासो साथ नियालेको परेडमा हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नु पर्ने सन्देश पनि दिइएको थियो ।

एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष छिरिङ शेर्पाको अध्यक्षता भएको परेडमा मनिता गुरुङले संयोजक भूमिका निर्वाह गरेकी थिइन् । परेडका लागि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले सहकार्य गरेको थियो ।

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully