अस्ट्रेलियाको एडिलेडस्थित नेपाली विद्यालयले मनायो दशौं वार्षिकोत्सव 

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

Nepali School in Adelaide, Australia celebrated its tenth anniversary

अस्ट्रेलिया — अस्ट्रेलियास्थित एडिलेड नेपाली विद्यालयले संसद भवनमा आयोजित विशेष समारोहमार्फत आफ्नो दशौं वार्षिकोत्सव मनाएको छ । 

कार्यक्रममा दक्षिण अस्ट्रेलिया सरकारकी बहुसांस्कृतिक तथा पर्यटनमन्त्री जो बेटिसनले अस्ट्रेलियास्थित नेपाली समुदाय शिक्षित एवं जागरुक भएको भन्दै प्रशंसा गरिन् । आत्मविश्वासी युवालाई आकार दिन भाषा र संस्कृतिले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले एडिलेड नेपाली विद्यालयका विद्यार्थीले भविष्यका लागि बलियो जग निर्माण गर्दै आफ्नो सम्पदालाई गर्वका साथ अँगालेको बताइन् । 

समर्पित शिक्षक, स्वयंसेवक, अभिभावक र समुदायका सदस्यको निरन्तरको समर्पणले भाषा र संस्कृतिको क्षेत्रमा उदाहरणीय कार्य भएको बेटिसनको भनाइ छ । त्यस अवसरमा उनले विद्यालयद्वारा प्रकाशित अभ्यास पुस्तिकाको समेत अनावरण गरिन् । Nepali School in Adelaide, Australia celebrated its tenth anniversary

दक्षिण अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले विद्यालयको प्रगति प्रति खुशी व्यक्त गरिन् । कार्यक्रममा विद्यालयका विद्यार्थी, स्वयंसेवक शिक्षकसँगै दक्षिण अस्ट्रेलिया सरकारको गृह मामिला विभाग तथा बहुभाषिक विद्यालयका प्रतिनिधि लगायतको उपस्थिति थियो । 

अस्ट्रेलियाली सरकारको आर्थिक सहयोगमा संचालित नेपाली भाषा विद्यालयमा विभिन्न नेपाली चाडपर्व, नेपाली रहनसहन साथै नेपाली राष्ट्रिय विभूतिको बारेमा पनि अध्यापन हुँदै आएको छ । नेपाली भाषा तथा साहित्य प्रतिको मोह र आफ्ना सन्ततिलाई नेपाली भाषा संस्कृति हस्तान्तरण गर्दै जाने उद्देश्यले २१ जना बाट सन् २०१५ मा सुरू भएको विद्यालयमा हाल १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । Nepali School in Adelaide, Australia celebrated its tenth anniversary

पछिल्लो समय नेपाली भाषा संस्कृतिको प्रवर्द्धन र दोश्रो पुस्तामा यसको हस्तान्तरण प्रवासी नेपालीका लागि चुनौती नै बन्दै गएको छ । जसका कारण नेपाली समुदायको बाक्लो उपस्थिति रहेका अस्ट्रेलियाका सबै राज्य तथा क्षेत्रमा नेपाली भाषाको अध्ययन, अध्यापनको क्रम बढ्दो छ । 

कान्तिपुर

Link copied successfully