बेलायत — तमू प्ये ल्हु संघ यूकेले कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङलाई बेलायतमा सम्मान गरेको छ ।
गुरुङ समुदायको समृद्धि, सांस्कृतिक परम्परा तथा सम्पदाको संरक्षण र संवर्द्धनमा समर्पण, अथक प्रयास र योगदानको कदर गर्दै सम्मान गरिएको तमू प्ये ल्हु संघ यूकेले जनाएको छ ।
उनलाई १९ अप्रिल (बैशाख ६) शनिबार साँझ बेलायतको रिडिङ बर्कशायरस्थित आफ्नै भवनमा आयोजना गरिएको कल्याणकारी रात्रि भोजमा तमू प्ये ल्हु संघ यूकेले सम्मान गरेको हो ।
गुरुङलाई तमू प्ये ल्हु संघ यूकेका अध्यक्ष डेमबहादुर गुरुङले गुरुङ परम्परा अनुसार क्रेगी (फेटा–पगरी) लगाइदिनुका साथै तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले सम्मानपत्र प्रदान गरेको आयोजक तमू प्ये ल्हु संघ यूकेका सचिव भेगलाल गुरुङले जानकारी दिए ।
कान्तिपुर संवाददाता गुरुङसँगै गायिका पवित्रा गुरुङ, सविना गुरुङ र तिलकबहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई गीतसंगीतको माध्ययबाट गुरुङ जातिको भाषा, कला र संस्कार संस्कृतिको संरक्षणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
