काठमाडौँ — नेपालीमूलका विजय पौडेल क्यानडाको संघीय सांसदको उम्मेदवार बनेका छन् । अप्रिल २८ तारिखमा हुने निर्वाचनका लागि उनले अप्रिल ४ मा उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी ओन्टारियो प्रान्तको हम्बर रिभर-ब्ल्याक क्रिक (३५०४१) इलेक्टोरल डिस्ट्रिक्ट क्षेत्रबाट संघीय सांसदका लागि कन्जरभटिभ पार्टीको तर्फबाट उम्मेदवार चुनिएका हुन् । १५ वर्षदेखि क्यानडामा रहँदै आएका बर्दियाका पौडेलले सन् २०२१ मा पनि उम्मेदवारी दिएका थिए ।
क्यानडाको मूलधारको राजनीतिमा सक्रिय पौडेलले राजनीतिक यात्रालाई संघीय सदनतर्फ अगाडि बढाएका हुन् ।
उनी क्यानडा-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन् । उनले नेपाली समुदायमा सगरमाथा पार्क स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । कोभिडको समयमा उनले पुर्याएको योगदानको कदरस्वरुप क्यानडाको प्रान्तीय सरकारले 'रेस्पोन्सिबल सीटिजन अवार्ड' पनि दिएको थियो । उनले गत वर्ष संघीय सांसद कायल सिबैकका लागि क्यानाडियन हाउस अफ कमनसबाट नेपाल मामिला हेर्नको निमित्त विशेष दूत पदमा नियुक्ति पाएका थिए । उनलाई पील रिजनल पुलिसले कम्युनिटी अम्बासडरको रुपमा समेत गत वर्ष नियुक्त गरेको थियो ।
उम्मेदवारी दर्तापछि पौडेलले नेपालीको सहयोग र सद्भाव प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । यस निर्वाचनमा आफ्नो उम्मेदवारीलाई तीन क्यानाडियन सांसदको समर्थन, नेपाली समुदाय र अन्य क्यानेडियन समुदायको पनि साथ रहेको उनले बताए ।
क्यानडाको हाउस अफ कमन्समा विभिन्न राज्यबाट निर्वाचित ३४३ जना सदस्य रहने व्यवस्था छ । क्यानडाको संविधानअनुसार संघीय सदन 'हाउस अफ कमन्स'ले संघीय कानुन बनाउने र पारित गर्ने काम गर्छ ।
