काठमाडौँ — बेलायतमा बसोबास गरिरहेका नेपाली बडिबिल्डर उमेश राई सन् २०२५ मा हुने १७औं धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएका छन्। उनले बडिबिल्डिङ क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा थुप्रै सफलता हासिल गरेका छन् ।
राईले सन् २०१६ मा १४औं धर्मश्री प्रतियोगितामा तेस्रो स्थान हासिल गरेपछि आफ्नो बडिबिल्डिङ करियरको आधार तयार पारे। त्यसपछि उनले सन् २०१८ मा दोस्रो मिस्टर एभरेस्टको उपाधि जिते र उही वर्षको नोभेम्बरमा पहिलो दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनशिप जितेका थिए ।
यस्तै सन् २०१९ मा उनले कुवेत क्लासिकमा पाँचौं स्थान प्राप्त गरे भने मे ४ मा सातौं मिस्टर हिमालयनको उपाधि जितेका थिए ।
सन् २०२० मा तेस्रो नेपाल राष्ट्रिय च्याम्पियनसिपको विजेता बनेर उनले देशभित्र आफ्नो वर्चस्व कायम राखे। सन् २०२२ मा १६औं मिस्टर धर्मश्रीको उपाधि जितेपछि उनले त्यही वर्षको जुलाई २० मा एसियाली बडिबिल्डिङ च्याम्पियनशिपमा रजत पदक हासिल गरे ।
नेपालको यो प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन पाउँदा आफू निकै उत्साहित भएको उनले प्रतिक्रिया दिएका छन्।
