अमेरिकामा नेपाली पत्रकारिताको अवस्थाबारे चर्चा

चैत्र ४, २०८१

सुदीप शिवाकोटी

Discussion about the situation of Nepali journalism in America

टेक्सस, अमेरिका — अमेरिकाको टेक्ससमा नेपाली पत्रकारिताको वर्तमान अवस्थाबारे चर्चा गरिएको छ । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको 'पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग' विषयक अन्तरक्रियामा नेपाली पत्रकारिता र नेपालका संचारमाध्यमहरुको वर्तमान अवस्थाबारे चर्चा गरिएको हो ।

अन्तरक्रियामा नेपाली मिडियामा पछिल्ला वर्षमा देखिएको समस्या, कन्टेन्ट क्रियटर र पत्रकारबीचको फरक, काउन्सिलले गरिरहेका कार्य र आगामी दिनमा अघि बढाइएको योजना साथै विश्वका शक्तिशाली मुलुकका सञ्चारमाध्यमले खोल्ने भूमिका र ती सञ्चारमाध्यमले गर्ने प्रयोगबारे प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले धारणा राखेका थिए । पछिल्लो समय युट्युब सञ्चालनका लागि केही हदसम्म कानुनी दायरामा ल्याउने र उनीहरूले क्रियट गर्ने सामाजिक, पारिवारिक कन्टेन्टमा काउन्सिलले पछिल्ला वर्षमा निगरानी बढाउन थालेको बताए । 

उनले कार्यक्रममा सोधिएका नेपाली मिडियामा देखिएका समस्याबारे प्रश्नको जवाफ दिँदै नेपाली पत्रकारितामा आचारसंहिताको प्रयोग बढ्दै गएको दाबी गरे । ‘पछिल्ला समयमा नेपालमा सञ्चारकर्मीपिच्छे सञ्चारमाध्यम खुल्न थालेका छन्, त्यसलाई नियमन गर्न काउन्सिलले नयाँनयाँ कार्यविधि अघि बढाएको छ,’ उनले भने, ‘नेपालका मिडियाहरूले सुरु गरेको एआईको प्रयोगलाई समेत काउन्सिलले नियालिरहेको छ । विकसित मुलुकमा मिडियाले गरिरहेका प्रविधिको प्रयोगलाई समेत नेपाली मिडियाले पछ्याइरहेका छन्, यो तथ्य जाँचमा समेत टेवा पुर्‍याइरहेको छ ।’

काउन्सिल अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा गरेका पोस्ट र केही झुटा, प्रभावहीन जानकारीमा समेत आम पत्रकारले लेखेको भन्ने बुझाइका कारण केही समस्या हुने गरेको धारणा राखे । उनले त्यसका लागि काउन्सिलले नयाँ अवधारणा ल्याउन र नेपालमा पत्रकार र कन्टेन्ट क्रियटरबीच फरक हुन्, भन्ने बुझाउन जरुरी भइसकेको दाबीसमेत गरे ।

कार्यक्रममा सञ्चारकर्मी विनय गुरागाईंले समग्रमा विश्वमै पत्रकारिताको अवस्था, प्रविधिको प्रयोग, नेपालमा काउन्सिलले खेल्नुपर्ने भूमिकाबारे कार्यपत्र पेस गरेका थिए । उनले वर्तमान अवस्थामा नेपाली पत्रकारितामा केही नयाँ आयाम थपिएको बताए । ‘नेपालका ठूला मिडिया हाउसले प्रविधिको भरपूर प्रयोग गरिरहेका छन्, त्यसकारण पनि नेपाली जनतामा मिडियाको भूमिकाबारे बुझाइ बढ्दो छ,’ उनले भने । अमेरिका र क्यानडामा हाल करिब ३ सय पत्रकार रहेको र दुई देशका नेपाली पत्रकारसँग नेजाले समन्वय गर्दै आएको नेजा अध्यक्ष सुरज भण्डारीले जानकारी दिए । 

एक दशक अवधिको अवस्था हेर्दा अमेरिकामा नेपाली भाषाका सञ्चारमाध्यम बढ्दो रहेको बताए । उनले हाल अमेरिकामा ५० बढी अनलाइन न्युजपोर्टल सक्रियतापूर्वक सञ्चालनमा रहेको र कोभिडपछि नेपाली भाषाका पत्रिका बन्द हुन पुगेको र त्यसको पुनः सञ्चालनबारे नेजाले पहल गरिरहेको बताए । उनले नेपाली समुदायका अगुवाले विदेशी भूमिमा नेपाली पत्रकारप्रति गरेको सहयोग, सहकार्यप्रति आभारसमेत व्यक्त गरे । कार्यक्रममा नेजाका सल्लाहकार सञ्जय घिमिरेले काउन्सिलले नयाँ प्रविधि प्रयोग गरेर मात्र सञ्चालन गर्ने मिडियालाई निगरानी गरिरहन जरुरी रहेको सुझाव दिए । उनले नेपाली मिडियामा पछिल्लो समय केही अराजकता पनि देखिएकोले त्यस्ता मिडियालाई अन्तिम हदसम्मको कारबाही गर्न काउन्सिल हिच्किचाउन नहुने धारणा राखे । 

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully