डेढ महिनादेखि लन्डनमा बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा आए

फाल्गुन २८, २०८१

रासस

A Nepali student missing in London for a month and a half came in contact with the embassy

बेलायत — लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आएका छन् । गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला परेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।

उनले भने, 'इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको छ । उहाँ सम्पर्कमा आउनुभएसँगै नेपालस्थित उहाँको परिवारलाई खबर गरेका छौँ, उहाँहरुकै आग्रहमा नेपाल फिर्ता पठाउने तयारी सुरु भइसकेको छ ।' 

दूतावाससँग कमल स्वयंले पनि नेपाल फर्कने इच्छा देखाएको दुवाडीको भनाइ छ । उनको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको र पासपोर्ट बेलायतको होमअफिसमा रहेको दूतावासले जनाएको छ ।

लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुगेका थिए । त्यसपछि उनी लन्डनबाटै सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । 

कमल हराएको सूचना पाएलगत्तै लन्डनस्थित नेपाली दूतावासले लन्डन मेट्रोपोलिटन प्रहरीलाई खबर गरेर खोजीका लागि आग्रह गरेको थियो । धनुषाको हंसपुर–६ का अधिकारी सन् २०२२ मा अध्ययनका लागि बेलायत आएका थिए । 

रासस

Link copied successfully