अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी पक्राउ 

फाल्गुन २७, २०८१

सुदीप शिवाकोटी

Two Nepalis who tried to enter America illegally were shot and arrested

अमेरिका — अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकलाई गोली प्रहार गरी पक्राउ गरिएको छ ।

स्थानीय समयअनुसार गतसाता मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेसन्स् (एएमओ)ले पक्राउ गरेको हो ।

हाल उनीहरु सीबीपीकै नियन्त्रणमा रहेको जनाइएको छ । क्यालिफोर्नियाको समुन्द्री तटबाट दुई नेपालीसहित नौ जना अवैध अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीलाई नियन्त्रणमा लिइएको सीबीपीले वेवसाइडमार्फत जानकारी दिएको छ । सीबीपीले हालसम्म पक्राउ पर्नेको नाम भने खुलाएको छैन । 

‘एएमओको विमानले मंगलबार राति करिब साढे ९ बजे क्यालिफोर्नियाको तटबाट डुंगामा अमेरिकाको सिमातर्फ आउँदै गरेको अवैध आप्रवासीको समूह पत्ता लगाएपछि कोस्टल इन्टरसेप्टर भेसलसँग समन्वय गर्दै एयरक्रुले डुंगाको निगरानी गरिरहेको थियो,’ सीबीपीले भनेको छ, ‘रातिको समयका कारण समुद्रमा उनीहरुलाई नियन्त्रणमा लिन समस्या भएपछि बुधबार बिहान उनीहरुमाथि गोली प्रहार गरी  पक्राउ गरिएको हो ।’

पक्राउ पर्नेमा दुई नेपालीसहित दुई मेक्सिकन, चार ब्राजिलियन र एक जना चिनियाँ नागरिक छन् । उनीहरुलाई अमेरिकी कानुन ८ युएससी १३२४ उल्लंघन गरेको आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने सीबीपीले तयारी गरेको छ । 

अमेरिकी कानुन अनुसार सामान्य उल्लंघनमा जरिवाना वा पाँच वर्षसम्म जेल, आर्थिक लाभका लागि वा आपराधिक विदेशी संलग्न भएमा न्यूनतम ३ देखि अधिकतम १० वर्षसम्म जेल सजाय हुनेछ ।

गतसाता बुधबार नै दक्षिण सीमाबाट अमेरिका हिँड्दै आउने क्रममा एक नेपालीले ज्यान गुमाएका थिए । दाङ जिल्ला घर भएका ३५ बर्षीय पूर्णबहादुर डांगीको घानाको राजधानी आक्रामा मृत्यु भएको थियो । राष्ट्रपति ट्रम्पले जनवरी २० मा कार्यभार सम्हालेलगतै सीमा सुरक्षामा कडाइ गर्दै सुरक्षाकर्मी परिचालन संख्यामा समेत दोब्बर वृद्धि गरेपछि अवैध अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या ९७ प्रतिशतले घटेको छ ।

ट्रम्प प्रशासनले सीमा सुरुक्षामा खटिने सीबीपीलाई गैरकानुनी रुपमा अमेरिका प्रवेशका लागि सीमा पार गर्न खोज्नेहरुलाई अवस्थाको अध्ययन गर्दै इन्काउन्टर गर्न, पक्राउ गरी जेलमा राख्न, तत्काल कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन र निष्कासन गर्न आदेश दिएको एक महिनामा गैरकानुनी आप्रवासी प्रवेश गर्न खोज्ने ९७ प्रतिशतले घटेको हो ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully