अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा धुमधामका साथ होली महोत्सव मनाइएको छ । स्थानीय पार्कमा आयोजना गरिएको उक्त महोत्सवमा हजारौं नेपालीले एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गर्दै होली मनाएका छन् ।
स्थानीय सामाजिक संस्था एडिलेड नेपालले हरेक वर्ष आयोजना गर्दै आएको होली महोत्सव यसवर्ष मिचेल पार्कमा आयोजना गरिएको थियो । नेपाली खानाका परिकारसहितको उक्त महोत्सवको मुख्य आकर्षण नेपालबाट आएका कलाकार थिए । नेपालबाट पशुपति शर्मा, चक्र बमले सहभागिता जनाएका थिए । साथै स्थानीय डिजेसहितका कलाकारलेसमेत गीतसंगीत तथा नृत्यमार्फत मनोरञ्जन दिएका थिए ।
३६ डिग्रीको गर्मीमासमेत होली मनाउन नेपालबाट आएका अभिभावक, बालबालिकासहित हजारौंको सहभागिता थियो । महोत्सवमा नेपाली मात्र नभएर विभिन्न बहुसांस्कृतिक समुदायका सर्वसाधारणले सहभागिता जनाएका थिए । पछिल्लो समयमा यस कार्यक्रमलाई स्थानीय मारियन काउन्सिलले ‘कम्युनिटी इभेन्ट अफ द इयर’ का रुपमा सम्मानित गरेपछि यस महोत्सवले अझ बढी चर्चा र महत्व पाएको छ । आयोजक संस्थाका पुष्कर कोइरालाले महोत्सवको माध्यमबाट आपसी भाइचारा कायम गर्ने र आफ्नो मौलिक संस्कृति र पर्वलाई प्रवासमा अझ प्रवर्धन गर्ने उद्देश्य रहेको बताए ।
