क्वालालाम्पुर — राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न युवाहरुले अन्तर्राष्ट्रिय साझेदारीसहित नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।
विश्वका असंलग्न देशका युवाहरुको अन्तर्राष्ट्रिय संगठन र मलेसियाली युवा परिषद्द्वारा राजधानी क्वालालाम्पुरमा एसियाका १७ देशका प्रतिनिधिहरुको सहभागितामा आयोजना गरिएको सम्मेलनमा उनले जलवायु कार्यमा कुनै अमुक देशको एक्लो प्रयास अपर्याप्त हुने भएकाले साझा प्रयत्न अत्यावश्यक भएको बताएका हुन् । उनले भने, 'असंलग्न आन्दोलनबाट मात्र विश्व सद्भाव र शान्ति सम्भव छ । नेपाल र नेपाली युवा सदैव असंलग्न आन्दोलनमा प्रतिबद्ध छन् र रहिरहनेछन् ।'
नयाँ बन्न लागेको राष्ट्रिय युवा नीति र युथ भिजनमा जलवायु कार्य र युवाको भूमिकालाई प्रमुख आधारस्तम्भको रुपमा समेटिन लागिएको उनले जानकारी दिए । युवाहरुलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराएमात्र युवाका आवाजले स्थान पाउने उनको भनाइ छ ।
फेब्रुअरी २३ देखि २६ सम्म चलेको सम्मेलनमा नेपाल, अजरवैजान, बंगलादेश, वेलारुस, कम्बोडिया, फिजी , भारत, इन्डोनेसिया, जोर्डन, मलेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड, ओमान, उज्वेकिस्तान र पूर्वी टिमोर सहितका एसियाली युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । २०२२ को जुलाईमा अजरवैजानमा आयोजित ६३ वटा असंलग्न देशका प्रतिनिधिहरुको सम्मेलनबाट असंलग्न देशहरुको युवा संगठन स्थापना भएको थियो ।
