नेपाली युवा व्यवसायीलाई अस्ट्रेलियाली सरकारको सम्मान

फाल्गुन ५, २०८१

नारायण खड्का

Australian government honors Nepali young businessmen

अस्ट्रेलिया — नेपाली युवा व्यवसायी महेश प्रसाई न्यु साउथ वेल्स राज्य सरकारबाट सम्मानित भएका छन् । न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले व्यवसायको माध्यमबाट स्थानीय समुदायमा योगदान गरेको भन्दै उनलाई सम्मान गरेका हुन् ।

प्रसाईलाई शनिबार सिड्नीमा आयोजित एक कार्यक्रमबीच सम्मान गरिएको हो । प्रसाईले अस्ट्रेलियाको सिड्नीस्थित रकडेलमा ताजा फलफूल र खाद्यान्नको व्यवसाय गर्दै आएका छन् । 

कार्यक्रममा उनीसहित स्वास्थ्य, सुरक्षा, आपतकालीन सेवा जस्ता विभिन्न माध्यमबाट राज्यमा महत्वपूर्ण योगदान पुरयाएका अन्यलाई पनि सम्मान गरिएको थियो । तर नेपाली समुदायबाट व्यवसायीका रुपमा सम्मान पाउने प्रसाई एक्लो थिए ।

कार्यक्रममा न्यु साउथ वेल्सका अवैतनिक वाणिज्यदूत संजीय शर्मा, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतको उपस्थिति थियो । सम्मानपछि प्रसाईले यो सम्मानले आफूलाई भन्दा पनि समग्र नेपाल र नेपालीको पहिचानलाई राज्यमा अझ उचो बनाएको बताए । 

करिब डेढ दशकअघि विद्यार्थीका रुपमा अस्ट्रेलिया आएका प्रसाई व्यवसायबाहेक सामाजिक सेवामा पनि सक्रिय छन् ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully