राजदूत घिमिरेले बेलायत सरकारसमक्ष राखे आठ महत्वपूर्ण एजेन्डा

माघ २६, २०८१

नवीन पोखरेल

Ambassador Ghimire presented eight important agendas to the British government

लन्डन — बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती अधिकारीहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन् । गत मंगलबार इन्डो–प्यासिफिक मामिला हेर्ने सहायक विदेशमन्त्री क्याथरिन वेष्टसँग भेटवार्ता गरेका राजदूत घिमिरेले विदेश मन्त्रालयका इण्डो प्यासिफिक हेर्ने निर्देशक बेन मेलोर एवं दक्षिण एसिया हेर्ने उपनिर्देशक लिज्ली क्रेगसंग पनि बेग्लाबेग्लै भेट गरि बेलायत सरकारसमक्ष महत्वपूर्ण एजेन्डा राखेका छन् ।

सहायक विदेशमन्त्री क्याथरिन वेष्टसँगको भेटवार्तामा उनले द्विपक्षीय हितका विविध विषयमा कुरा उठाए । नेपाल वैदेशिक लगानीका लागि उत्कृष्ट गन्तव्य भएको चर्चा गर्दै घिमिरेले बेलायतको विदेशी लगानी नेपालमा अभिवृद्धि गर्न जोड दिए ।

राजनीतिक स्थिरता र वैदेशिक लगानीका लागि नेपाल सरकारले पछिल्लोपटक गरेको सुधारबारे औंल्याउँदै उनले लगानीको उचित वातावरण बनेको बताएका थिए । नेपाल र बेलायतबीच द्विपक्षीय व्यापार मुलतः नेपालबाट बेलायतमा हुने निर्यात बढाउन आगामी दिनमा ठोस पहलका लागि पनि घिमिरेले आग्रह गरे ।

नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै राजदूतले बेलायती समाजमा नेपालप्रतिको गहिरो सद्भाव (गुडवील) दृष्टिगत गरि बेलायती पर्यटकहरुको संख्या वृद्धिका लागि लन्डन र काठमाडौंबीच सिधा हवाइ उडान पुनर्सञ्चालन गर्न समेत आग्रह गरे। 

त्यसैगरि, बेलायत र नेपालबीचको अद्वितीय सम्बन्ध दृष्टिगत गरेर नेपालले पाउंदै आएको वैदेशिक सहायता थप वृद्धि गर्न साथै द्विपक्षीय सम्बन्धलाई थप उजिल्याउन र दीर्घकालिक आर्थिक लाभ सृजना गर्ने केही ठूला भौतिक पूर्वाधारमा बेलायत सरकारको विकास सहयोग बढाउन पनि उनले आग्रह गरेका छन् । 

त्यस अतिरिक्त राजदूत घिमिरेले नेपालले पछिल्लो समय जलवायू परिवर्तनको असरबाट खेपेको दुष्परिणामको उदाहरण दिंदै जलवायू असर सम्बन्धि क्षतिपूर्ति (कम्पेनसेटोरी क्लाइमेट जस्टिस) का लागि नेपालले उठाएको आवाजबारे समेत स्मरण गराए । 

'मैले लामो समयदेखि सम्बोधन हुन बांकी रहेको भूतपूर्व गोर्खासँग सम्बन्धित सबै समस्याको यथाशक्य छिटो निराकरणका लागि पनि जोड दिएको छु', घिमिरेले कान्तिपुरसँग भने ।  भेटमा उनले बेलायतबाट नेपालमा प्रधानमन्त्रीसहित उच्चस्तरिय राजनीतिक भ्रमणका लागि पहल गरिदिन पनि मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

राजदूत घिमिरेले हाल नेपालमा रहेका संयुक्त अधिराज्य (यूके) का अधिराजकुमार एडवार्ड एवं अधिराजकुमारी तथा विगतमा राजपरिवारबाट भएका भ्रमणहरुप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्रीको पनि नेपाल भ्रमण गराउन पहल गर्न आग्रह गरेका छन् । 

नवीन

Link copied successfully