अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा एक महिनापछि हुन लागेको 'नेपाल महोत्सव'को तयारी तीव्र पारिएको छ । राज्यको राजधानी एडिलेडको मुख्य पर्यटकीय क्षेत्र एल्डर्स पार्कमा यही मार्चको ९ तारिखमा नेपाल महोत्सवको आयोजना हुन लागेको हो ।
प्रवासी नेपालीको संगठन एनआरएनएले महोत्सवको तयारीका बारेमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । एनआरएनए दक्षिण अस्ट्रेलियाका अध्यक्ष सञ्जय पुरीले महोत्सवको माध्यमबाट अस्ट्रेलियामा रहेका अन्य समुदायलाई नेपाली कला संस्कृति तथा पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव हुन लागेको बताए ।
उनले यसका लागि अनुमानित १ लाख ५० हजार डलर खर्च हुने र त्यसका लागि करिब १ लाख डलर जुटिसकेको जानकारी दिएका थिए । कार्यक्रममा महोत्सवका लागि बुमराङ इन्टरनेसनल र अधिकांश नेपाली विद्यार्थी अध्ययन गर्ने फ्ल्न्डिर्स युनिभर्सिटीले २० हजार डलर सहयोग गर्ने घोषणा गरेका थिए ।
नेपाली कला संस्कृति, पर्यटन तथा परम्पराको जर्गेना गर्न र समुदायमा सहयोग पुर्याउनका लागि हातेमालो गर्न लागेको बुमराङ इन्टरनेसनलका प्रमुख आशिष वाग्लेले पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलनमा महोत्सवको लोगो सार्वजनिक गरिएको थियो भने महोत्सव व्यवस्थापक संयोजक तथा संस्थाका उपाध्यक्ष विनोद बानियाँले अहिलेसम्म भइसकेको प्रगतिका बारेमा जानकारी गराएका थिए । उनले महोत्सव सफल बनाउनका लागि दर्जन बढी उपसमिति निर्माण गरेर कामलाई तीव्रता दिइएको बताए ।
महोत्सवमा १० हजार बढीले सहभागिता जनाउने अपेक्षा गरिएको छ भने राज्य सरकारका मन्त्री, सांसद र स्थानीय राजनीतिक दलका नेता र बहु सांस्कृतिक समुदायले सहभागिता जनाउनेछन् । महोत्सवमा कन्दरा ब्यान्ड र गायिका समीक्षा अधिकारीले साङ्गीतिक प्रस्तुति दिनेछन् ।
अन्य सहरमा समेत हुँदै
दक्षिण अस्ट्रेलिया लगत्तै अस्ट्रेलियाका अन्य विभिन्न चार सहरमा पनि नेपाल महोत्सव आयोजना गरिने भएको छ । आयोजक एनआरएनएले दिएको जानकारी अनुसार मेलबर्नमा मार्च १५ तारिख, राजधानी क्यानबेरामा मार्चको २२ तारिख, तास्मानियाको होबार्टमा मार्च २९ तारिख र ब्रिस्बेनमा अप्रिल ६ तारिखमा नेपाल महोत्सव आयोजना हुँदैछ ।
हरेक राज्यमा हुने महोत्सवमा नेपाली झाँकीसहितको सांस्कृतिक परेड आयोजना हुने भएको छ भने नेपालको हस्तकला, पोसाक लगायतका विभिन्न सामाग्रीको जानकारी दिने उद्देश्यले नेपाल हाउसको समेत निर्माण गरिनेछ ।
करिब डेढ दशकदेखि सुरु गरिएको नेपाल महोत्सवको माध्यमबाट नेपालको पर्यटन प्रवद्धर्न गर्न र अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा नेपाली कला संस्कृतिका बारेमा जानकारी गराउन महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।
पछिल्लो समयमा यस कार्यक्रमका लागि यहाँस्थित राज्य सरकारले आर्थिक सहयोग दिने मात्र नभएर प्रिमियरका साथै अन्य राजनीतिक दलका नेताले प्राथमिकताका साथ सहभागिता जनाउन थालेका छन् ।
