बेलायती सहायक विदेशमन्त्री वेस्टसँग राजदूत घिमिरेको भेटवार्ता 

माघ २३, २०८१

कान्तिपुर संवाददाता

Ambassador Ghimire's meeting with British Assistant Foreign Minister West

लन्डन — बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले इन्डो-प्यासिफिक मामिला हेर्ने सहायक विदेशमन्त्री क्याथरिन वेस्टसँग भेटवार्ता गरेका छन् । मंगलबार उनकै कार्यकक्षमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा द्विपक्षीय हितका राजनीतिक, आर्थिक, शैक्षिक तथा विकास लगायत विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ । 

राजदूत घिमिरेले आफ्नो कार्यकालमा आर्थिक र राजनीतिक कूटनीतिलाई प्राथमिकता दिने कार्ययोजना रहेको सुनाएका थिए । राजदूत घिमिरेले भूतपूर्व गोर्खासँग सम्बन्धित समस्याबारे पनि छलफल गरे ।

घिमिरेले नेपालको विकासमा थप बेलायती सहयोगका लागि जोड दिँदै बेलायतबाट नेपालमा प्रधानमन्त्रीसहित उच्चस्तरिय राजनीतिक भ्रमणमा पहल गरिदिन आग्रह गरेको दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जनाए । 

राजदूत घिमिरेले हाल नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य (यूके) का अधिराजकुमार एडवार्डको प्रसंग जोड्दै बेलायती राजपरिवारबाट भ्रमण भइरहे पनि प्रधानमन्त्रीको भने बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०९ वर्षसम्म पनि नेपाल भ्रमण हुन नसकेको स्मरण गराएका थिए ।  

मन्त्री वेस्टले हालै कांग्रेस नेता डा. शेखर कोइराला सहभागी ‘नेपाल बेलायत सम्बन्ध’ विषयक अन्तरक्रियामा ब्रिटिस प्रधानमन्त्रीले नेपालको भ्रमण गर्ने उपयुक्त समय आएको र आफूले पहल गर्ने बताएकी थिइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully