प्रदेश सांसद गुरुङ लन्डनमा सम्मानित

माघ १५, २०८१

कान्तिपुर संवाददाता

State MP Gurung honored in London

लन्डन — हाल बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ लन्डनमा सम्मानित भएकी छन् । गण्डकी प्रदेश सांसद गुरुङलाई तमु समाज यूकेले शनिबार आफ्नै नेपाली कम्युनिटी सेन्टरमा सम्मान गरेको हो ।

समाजकी अध्यक्ष विन्दुकुमारी गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सांसद गुरुङलाई सिल्भर प्लेक र खादा मालाबाट सम्मान गर्दै स्वागत गरे । सांसद गुरुङले स्वागत सम्मान गरेकामा समाजलाई धन्यवाद दिंदै नेपालबाट ल्याएको बुद्धको मूर्ति कुँदिएको आँखीझ्याल तमु समाज यूकेलाई प्रदान गरेकी थिइन् । औपचारिक कार्यक्रममा गुरुङले भूतपूर्व ब्रिटिस गोर्खा समस्या समाधानका लागि आफ्नो क्षमताले भ्याएसम्म पहल गर्ने बताइन् । उनले वंशजको नेपाली नागरिकता निरन्तरता मागमा समेत पहल जारी राख्ने आश्वासन दिएकी थिइन् । कार्यक्रममा समाजका महासचिव शुभ घलेले सांसद गुरुङको व्यक्तित्वबारे जानकारी दिएका थिए ।

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा बेलायत आएकी सांसद गुरुङले यहां नेपाली डायष्पोरासंगको भेटघाट तीव्र पारेकी छन् । उनले शनिबार बिहान लन्डन वुल्लीचस्थित ग्यारिसन चर्च हातामा ‘कमनवेल्थ एण्ड गोर्खा गार्डेन’ निर्माणस्थल पुगेर चौतारा निर्माणको प्रगतिबारे जानकारी लिएकी थिइन्। सांसद गुरुङले लन्डनमा बन्न लागेको गोर्खा चौतारा नेपालीहरुको वीरताको प्रतीकका रूपमा रहने बताइन्।

बेलायत र नेपालबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहंदै आएको उल्लेख गर्दै उनले गोर्खा चौताराले त्यही इतिहास र नेपाली पहिचानलाई स्थापित गर्न सहयोग पुर्‍याउने आशा समेत व्यक्त गरिन्। सांसद गुरुङले लन्डनस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरे, रोयल बरो अफ ग्रीनविचका मेयर काउन्सिलर जित रानाभाटसँग भेट गरी नेपाली समुदाय र उनीहरुका सरोकारबारे छलफल गरेकी थिइन् । उनले बेलायती संसद् भवन अवलोकन भ्रमणसमेत गरेर यहाँको संसदीय अभ्यास सम्बन्धमा जानकारी लिइन् । 

कान्तिपुर

Link copied successfully