हरेक वर्षको जनवरी २६ मा मनाइने ‘अस्ट्रेलिया डे’ का अवसरमा दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडमा विभिन्न देशका कला संस्कृतिसहित परेडको आयोजना गर्ने गरिएको छ
अस्ट्रेलिया — अस्ट्रेलियाको राष्ट्रिय दिवस ‘अस्ट्रेलिया डे’ को अवसरमा आयोजना गरिएको बहुसांस्कृतिक परेडमा नेपाली लोक तथा परम्परागत पञ्चेबाजा र धिमेबाजासहित नेपालीले देशको प्रतिनिधित्व गरेका छन् ।
दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडमा हरेक वर्ष ‘अस्ट्रेलिया डे’ को दिनमा विभिन्न देशका कला संस्कृतिसहित परेडको आयोजना गर्ने गरिएको छ । एक दशकअघिदेखि नेपालीले यस परेडमा सहभागिता जनाउँदै आएका छन् । यस पटकको परेडमा नेपाली दौरा, सुरुवाल, ढाकाटोपीमा सजिएका पुरुष र साडीचोलोमा सजिएका महिलाले नेपाली बाजागाजामा नृत्य गर्दै आफ्नो कला संस्कृतिलाई चिनाउने प्रयत्न गरेका हुन् । नेपालीसहितका विभिन्न बहुसांस्कृतिक समुदायको सहभागितालाई यस कार्यक्रममा अत्यन्तै महत्व दिइने गरिन्छ ।
आइतबार आयोजना गरिएको यस परेडमा नेपालसहित विभिन्न ६० देशका नागरिकले आफ्नो कला संस्कृति तथा परम्पराको झल्को दिलाएका थिए । जसमा नेपालका पञ्चेबाजा, धिमेबाजाले सबैको ध्यान तानेका थिए । परेडमा सहभागी नेपालीसँग फोटो खिच्न चाहने उत्तिकै थिए भने नेपाली बाजा तथा पोसाकप्रति जानकारी लिन सहभागी तथा दर्शक उत्तिकै उत्सुक थिए ।
यसपालिको परेडमा यस राज्यमा रहेका एडिलेड पञ्चेबाजा समूह, एडिलेड नेपाल समाज, तमु धि, गुठी एसए, नेप्लिज इन एडिलेड, एडिलेड नेपाल, नेपाली पाठशालालगायतका विभिन्न नेपाली सांस्कृतिक तथा सामाजिक संस्थाले सहभागिता जनाएका थिए । यस परेडमा दोस्रो पुस्ताका नेपाली बालबालिका तथा नेपालदेखि आएका अभिभावकले समेत उत्साहका साथ सहभागिता जनाउने गरेका छन् । परेडमा सहभागी पत्रकार बालगोपाल उपाध्यायले नेपालीको संख्या बढेसँगै सरकारी तवरबाट आयोजना गरिने यस्ता कार्यक्रममा नेपालीले महत्त्वपूर्ण स्थान बनाउन थालेको बताए । ‘यसले हामीलाई यस्ता कार्यक्रममा सहभागी हुने मात्र नभएर यहाँको स्थानीय समुदाय र राजनीतिमा पहुँच बनाउनसमेत मद्दत पुर्याइरहेको छ ।’
अस्ट्रेलियामा पहिलो युरोपियन स्थायी बसोबास भएकोमा सम्मानस्वरूप जनवरी २६ लाई राष्ट्रिय दिवसका रूपमा मनाइने गरिएको छ । यस दिनलाई यहाँका आदिवासीले भने आफ्नो भूमि अतिक्रमित भएको दिनका रूपमा लिँदै बहिस्कार गर्दै आएका छन् ।
