सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासको आग्रह

माघ ७, २०८१

रासस

The request of the Nepali Embassy in Kuwait to participate in the social security concept

काठमाडौँ — कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रम गरी सो आग्रह गरेको हो ।

कार्यक्रममा कुवेतका गैरआवासीय नेपाली सङ्घ, नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखाका प्रतिनिधि र नेपालमा पैसा पठाउने कुवेतस्थित अधिकांश वित्तीय क्षेत्रका सङ्घसंस्थामा कार्यरत नेपाली प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई वित्तीय सचेतनाका बारेमा जानकारी दिन आवश्यक रहेको बताए। वित्तीय सचेतना र सामाजिक सुरक्षा कार्यक्रमको महत्वका बारेमा नेपाली श्रमिकलाई सरल तरिकाले बुझाएर उक्त कार्यक्रममा समेट्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका सहभागीले वित्तीय सचेतना, नेपालमा विप्रेषण पठाउने तरिका यसको प्रवृत्ति र सम्भावनाहरु तथा सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन र श्रमिकको सहभागिता वृद्धि गर्ने सम्बन्धमा आ–आफ्ना धारणाहरु राखेका थिए । सहभागीले वित्तीय सचेतनाको विषयमा राजदूतावासबाट सम्बोधन भएकामा राजदूतावासलाई धन्यवाद दिएका थिए । 

उक्त कार्यक्रममा कुवेतको वित्तीय क्षेत्रमा कार्यरत नेपाली प्रतिनिधि तथा राजदूतावासका अन्य कूटनीतिक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

रासस

Link copied successfully