लन्डन — संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो कार्यभार सम्हालेका छन् ।
शुक्रबार बिहान लन्डन उत्रिएकै दिन उनले दिउँसो कार्यालय पुगेर कार्यभार सम्हालेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उनी लन्डन मिसनमा २३ औं राजदूत हुन् ।
राजदूत घिमिरे र उनकी धर्मपत्नी सरिता न्यौपाने घिमिरे हिथ्रो विमानस्थल टर्मिनल ५ मा ओर्लंदा उनीहरुलाई बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पेरी, उपनियोग प्रमुख विपिन दुवाडी लगायत दूतावास कर्मचारीले स्वागत गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेको करिब तीन सातामा घिमिरे बेलायत आएका हुन् । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रुपमा आएका घिमिरेले आफ्नो कार्यकालमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने बताएका छन् । लामो समयदेखि बांकी भूतपूर्व गोर्खाहरुको माग सम्बोधनमा पनि आफूले सक्दो पहल गर्ने उनको अठोट छ ।
लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् ।
