लन्डन — संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले लन्डनमा ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । पुस २७ कै दिन राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाइएको हो ।
मन्तव्यका क्रममा प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडीले शाहका दिव्योपदेश अहिले पनि कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । नेपाली भएर हाम्रो पहिचान र परिचय दिन सम्पूर्ण आधार तय गरिदिने पृथ्वी शाह नै भएको र उनका वाणी अनुशरण गर्न सबैलाई आग्रह गरे ।
विशेष अतिथि रोयल बरो अफ ग्रीनविचका मेयर काउन्सिलर जित रानाभाटले पृथ्वी शाहका दिव्योपदेश र रणनीति केबल त्यतिबेला युद्ध र सैनिक रणनीतिमा मात्र आधारित नभएर अहिले पनि सान्दर्भिक एवं कालजयी रहेका बताए । राजनीतिक विश्लेषक युवा नेता शंकर तिवारीले पृथ्वी नारायण शाहलाई आफैं लडाईंमा होमिने फ्रेन्च शासक नेपोलियन बोनापार्टसँग तुलना गर्दै उनी युगान्तकारी र भिजनरी व्यक्तित्व भएको बताए ।
इतिहासमा जहिले वादविवाद हुने तर तर्क प्रमाणका आधारमा हुनुपर्ने जनाउँदै उनले शाहको योगदान भुलेर नकारात्मक विश्लेषण गर्न नहुने धारणा राखे । देश बनाउने महानायक शाह बुद्धपछि दोश्रो नायक भएको पनि उनले बताए ।
गोर्खाली बुद्धिजीवी विकलचन्द्र आचार्यले गोरखा जिल्लाको पुरानो इतिहासको विस्तृत वर्णन गर्दै पृथ्वीनारायण शाहको सवल नेतृत्वबारे प्रकाश पारे । त्यस कालखण्डको चर्चा गर्दै आचार्यले पृथ्वीनारायणको बहुआयामिक पक्षबारे सही तथ्य बुझ्न र जान्न जरुरी भएको समेत बताए । उच्च शिक्षा अध्ययनका लागि हाल बेलायत रहेका भ्रष्टाचार विरोधी सडक संघर्ष संयुक्त नागरिक आन्दोलनका युवा अभियन्ता एवं राष्ट्रिय कराते खेलाडी विप्लव खड्काले पृथ्वी नारायण शाहको भ्रष्टाचार विरोधी नारा अहिले व्यवहारमा समेत लागू गरिनुपर्नेमा जोड दिए ।'उनको दिव्योपदेश क्याप्सन राख्नका लागि मात्र होइन्', उनले थपे, 'अहिले नेपाल भ्रष्टाचारको दलदलमा फसिरहंदा अब पृथ्वी नारायणको उपदेशलाई सार्थक हुने गरि कार्यान्वयन गरिनुपर्छ । भ्रष्टाचारविरुद्ध युवाहरु सधैं चुप लागेर बस्ने समय छैन् ।'
कार्यक्रमका सभापति संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीले सहभागी र सहयोगी सबैप्रति धन्यवाद दिंदै चौंथो पृथ्वी पुरस्कार बर्दिया गुलरियाका स्वतन्त्र सामाजिक अभियन्ता कमलराज पौडेललाई दिइएको घोषणा गरे । अध्यक्ष क्षेत्रीले एकजना कुनै पनि पार्टीमा आबद्ध नभएको स्वतन्त्र बुद्धिजीवी साथै पृथ्वीनारायण शाहका बारेमा गहिरो दख्खल राक्ने व्यक्तिलाई एक लाख रुपैयाँको पुरस्कार दिने गरिएको बताए ।
३००औं पृथ्वी जयन्तीबाट सुरु गरिएको पुरस्कार पहिलोपटक राजनीतिक विश्लेषक तथा प्राध्यापक सुरेन्द्र केसीलाई, दोश्रो पुरस्कार राजनीति विश्लेषक राजेश अहिराज र तेश्रो पुरस्कार पर्यटन व्यवसायी एवं समाजसेवी भरत बस्नेतलाई प्रदान गरिएको थियो ।
