लन्डन — कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरि बुढामगर 'एमबीई' अवार्डबाट सम्मानित भएका छन् ।
वीन्सर क्यासलमा बुधबार आयोजित समारोहमा प्रिन्सेस आनले बुढामगरलाई ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीई) पदक प्रदान गरेकी हुन् । अद्भूत उपलब्धि र समुदायका लागि उत्कृष्ट सेवा गरेबापत सरकारको सिफारिसमा राजदरबारले उक्त प्रतिष्ठित पदक प्रदान गर्ने गर्छ ।
बेलायतको क्यान्टबरी केन्ट बस्ने बुढामगरले अवार्ड लिने क्रममा राजकुमारीसँग 'म सातवटा उच्च शिखर चढ्ने अभियानमा छु' भन्दा उनी केहीबेर बोल्न नसकेको स्मरण गरे । 'अवार्ड पाएपछि खुशी हुने त भइहाल्छ । यसले राम्रो काम गरे रिकग्नाइज हुँदोरहेछ भन्ने भएको छ,' उनले कान्तिपुरसँग भने, 'यसले मेरो डिसएबिलिटी अवारनेस गर्ने मुख्य उद्देश्यमा थप प्रेरणा मिलेको छ ।'
बुढामगरले सन् २०२६ भित्र सातै महादेशका उच्च शिखर (सेभेन समिट) आरोहण गर्ने लक्ष्यसहित हालसम्म ४ वटा सगरमाथा (एसिया), मन्ट ब्लंक (युरोप), अफिकाको माउन्ट किलिमन्जारो र नर्थ अमेरिकाको डेनाली हिमाल आरोहण गरिसकेका छन् ।
आगामी फेब्रुअरीमा उनी अर्जेन्टिनास्थित सबैभन्दा अग्लो हिमाल आकान्कागुवा चढ्ने योजनामा छन् । ब्रिटिस गोर्खामा कार्यरत रहँदा अफगानिस्तानको युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले गत वर्ष मे १९ मा कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका थिए । बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अंग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका हुन् ।
रोल्पा थबाङ गाउँपालिका-३ मिरुलका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा घुँडाभन्दा मूनीबाट आफ्ना दुवै खुट्टा गुमाएका थिए ।
