करदातालाई तर्साउने भन्दा उत्प्रेरित गर्न अर्थमन्त्रीको निर्देशन

राजस्व संकलन सुदृढीकरण र चुहावट नियन्त्रणमा जोड दिँदै अर्थमन्त्री वाग्लेले मिसन मोडमा स्पष्ट लक्ष्यसहित काम गर्न कर्मचारीलाई आग्रह गरेका छन्

श्रावण ११, २०८३

न्युज एजेन्सी नेपाल

Finance Minister directs to motivate, not intimidate, taxpayers

What you should know

काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको राजस्व प्रणालीमा व्यापक सुधार गर्दै १६ खर्ब रुपैयाँको लक्ष्य प्राप्त गर्न ‘मिसन मोड’ मा काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छ ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले स्पष्ट लक्ष्य, मापदण्ड र समयसीमा तोकेर अघि बढ्न कर्मचारीहरूलाई आह्वान गरेका हुन् ।

सो क्रममा अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रम र बजेटमा समेत ‘मिसन मोड’ को वधारणा आएको उल्लेख गर्दै राजश्व प्रशासनलाई यसको सफल उदाहरणका रूपमा स्थापित गर्न जोड दिए ।मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उपभोगको ट्रेन्ड हेर्दा राजस्व संकलनको लय बिग्रिएको भन्दै उनले राजस्व चुहावट नियन्त्रण र दायरा विस्तारमा लाग्नुपर्ने बताए ।

सहरी क्षेत्रको अर्थतन्त्र बलियो देखिए पनि सोही अनुपातमा राजस्व संकलन नभएकोमा उनले चासो व्यक्त गरे । अर्थमन्त्री वाग्लेले कर्मचारीहरूलाई ‘कम्फर्ट जोन’बाट बाहिर निस्केर काम गर्न निर्देशन दिए ।लक्ष्यको नजिक पुगेपछि निष्क्रिय हुने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो । भ्रष्टाचार र अनियमितताप्रति ‘जिरो टलरन्स’को नीति अख्तियार गरिने स्पष्ट पार्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र बदमासी गर्नेलाई कारबाही गरिने बताए ।

करदातासँगको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा भन्दै तर्साउने भन्दा पनि उत्प्रेरित गर्ने नीति अवलम्बन गर्न निर्देशन दिए । उनले भने, 'ठूला करदाताहरूलाई सम्मान गर्ने र उनीहरूको योगदानको कदर गर्ने नयाँ योजना ल्याइनेछ । कर अनुपालनका लागि करदातालाई निश्चित समय दिएर जिम्मेवार बनाउनु पर्यो ।'

चालु आर्थिक वर्षको साउन महिनादेखि नै राजश्व संकलनमा सुधारको संकेत देखिनुपर्ने भन्दै उनले सोहीअनुसार सक्रिय हुन कर्मचारीहरूलाई आग्रह गरे । चाडबाड अगावै राजस्व संकलनको सकारात्मक लय समात्नसके त्यसले आगामी दिनमा थप हौसला दिने उनको विश्वास थियो ।

अर्थमन्त्री वाग्लेले भने, ‘मेरो उद्देश्य सधैं बिग पिक्चरमा केन्द्रित छ । हाम्रो मिसन १६ खर्ब स्पष्ट लक्ष्य हो । मिसन भन्नुको अर्थ लक्ष्य, सफलता–असफलताको मापदण्ड र समयसीमा तीनै कुरा स्पष्ट हुनु हो ।'

अर्थमन्त्रीले निजी क्षेत्रका वास्तविक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

न्युज

Link copied successfully