डडेल्धुराका किसान थोपा सिँचाइप्रति आकर्षित

थोपा–थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्‍याइने यो प्रविधिले कम पानीमै बढी उत्पादन लिन सकिने भएकाले जिल्लाका व्यावसायिक किसानको रोजाइमा पर्न थालेको हो ।

श्रावण ११, २०८३

तर्कराज भट्ट

Farmers in Dadeldhura attracted to drip irrigation

What you should know

डडेल्धुरा —  

जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोग्य जमिनमा सिँचाइको अभाव हुनु र उत्पादन लागत बढ्दै जाँदा डडेल्धुराका किसान आधुनिक सिँचाइ प्रविधितर्फ आकर्षित हुन थालेका छन् । विशेष गरी व्यावसायिक कृषि गर्ने किसानहरू थोपा सिँचाइ प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने तयारीमा छन् । 

थोपा–थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्‍याइने यो प्रविधिले कम पानीमै बढी उत्पादन लिन सकिने भएकाले जिल्लाका व्यावसायिक किसानको रोजाइमा पर्न थालेको हो । परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने साथै थोपा सिँचाइ श्रम र समयको समेत बचत हुने भएकाले आधुनिक खेती गर्ने किसानहरू यसको प्रयोगमा उत्साहित देखिएका छन् । 

अमरगढी नगरपालिका–१ डोलाका किसान पदमबहादुर ऐरले व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन् । उनले बिउ आलु उत्पादनसम्बन्धी तालिम लिएर व्यावसायिक खेती सुरु गरेका हुन् । यस वर्ष उनले ७ सय ४० क्विन्टल बिउ आलु उत्पादन गरे । कृषि ज्ञान केन्द्र र आलु सुपरजोन कार्यक्रमबाट विभिन्न प्रकारको सहयोग पाएका ऐरले उत्पादनलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा थोपा सिँचाइ प्रविधि अपनाउने योजना बनाएको बताए । पानीको अभाव हुँदै गएको अवस्थामा आधुनिक सिँचाइ प्रविधि नै दिगो विकल्प हुने उनको विश्वास छ । 

अमरगढीकै अर्का व्यावसायिक किसान प्रिन्सराज अवस्थीले पनि ठूलो परिमाणमा आलु उत्पादन गर्दै आएका छन् । उनले कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन गरिएको चक्लाबन्दीमा आलु र उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत चार लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् । आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यसहित उनी व्यावसायिक आलु खेतीमा सक्रिय छन् । 

अमरगढी नगरपालिका–९ का कमलसिंह झुकाल भने शिक्षण पेसाबाट अवकाश लिएपछि पूर्णकालीन रूपमा कृषिमा लागेका छन् । उनी हरेक वर्ष कृषि ज्ञान केन्द्रले सार्वजनिक गर्ने कार्यक्रमअनुसार आवेदन दिएर विभिन्न सहयोग लिँदै आएका छन् । गत वर्ष उनले केन्द्रबाट मल्चिङ र थोपा सिँचाइ कार्यक्रमअन्तर्गत सहयोग प्राप्त गरेका थिए । Farmers in Dadeldhura attracted to drip irrigation

उनका अनुसार थोपा सिँचाइ प्रविधि सुरुमा केही खर्चिलो भए पनि यसको लाभ निकै ठूलो छ । ‘हातले पानी हालिरहनु पर्दैन, सबै बिरुवामा आवश्यकताअनुसार बराबरी पानी पुग्छ,’ उनले भने, ‘सुरुमा लागत बढी लागे पनि व्यावसायिक किसानका लागि यो अत्यन्त आवश्यक प्रविधि रहेछ ।’

गन्यापधुरा गाउँपालिका–१ धौलाकोटका किसान खेमराज अवस्थी पनि व्यावसायिक आलु खेतीमा सक्रिय छन् । अवस्थीले कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन निकट भविष्यमा थोपा सिँचाइ प्रविधि अपनाउने तयारी गरिरहेका छन् । पानीको उपलब्धता घट्दै गएको अवस्थामा आधुनिक सिँचाइ प्रणालीले खेतीलाई अझ दिगो बनाउने उनको विश्वास छ । 

अमरगढी नगरपालिका–१ तडिबाटाका प्रकाशबहादुर ऐर भने थोपा सिँचाइ प्रविधि प्रयोग गरिरहेका नमुना किसानमध्ये एक हुन् । शिक्षण पेसाबाट अवकाश लिएपछि कृषिमा व्यावसायिक रूपमा लागेका उनले अहिले आधुनिक प्रविधिको प्रयोग गर्दै तरकारी तथा अन्य बाली उत्पादन गरिरहेका छन् । 

उनका अनुसार सुरुमा यो प्रविधि केही झन्झटिलो जस्तो लागे पनि प्रयोगमा आएपछि यसको महत्त्व बढेको छ । थोपा सिँचाइमार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सहजता आउने, छुट्टै सिँचाइको आवश्यकता नपर्ने र उत्पादनसमेत बढ्ने अनुभव उनले सुनाए । ‘थोरै मिहिनेतमा राम्रो उत्पादन लिन सकिन्छ,’ उनले भने, ‘कृषिलाई व्यावसायिक बनाउने हो भने आधुनिक प्रविधि अपनाउनुको विकल्प छैन ।’

अमरगढी नगरपालिका–१ का किसान धर्म भट्टले पनि उक्त सहयोगमा बन्दा, काउली, भान्टा, खुर्सानीलगायतका तरकारी बालीमा थोपा सिँचाइ प्रयोग गरिरहेका छन् । कृषि प्राविधिकका अनुसार जिल्लाका कतिपय व्यावसायिक किसानले मल्चिङसँगै थोपा सिँचाइ प्रविधि प्रयोग गरिरहेका छन् । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराका प्रमुख पीताम्बर बस्नेतका अनुसार किसान उद्यमशीलता कार्यक्रमअन्तर्गत प्लास्टिक घर (टनेल) भित्र थोपा सिँचाइ प्रणाली जडानका लागि किसानलाई सहयोग गर्दै आइएको छ । यस कार्यक्रममार्फत व्यावसायिक तरकारी खेती गर्ने किसानलाई आधुनिक सिँचाइ प्रविधि अपनाउन प्रोत्साहन गरिएको उनले बताए । Farmers in Dadeldhura attracted to drip irrigation

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लामा आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत उन्नत जातको बिउमा अनुदान, कृषि यान्त्रिकीकरण, साना सिँचाइ आयोजना तथा बिउ आलु उत्पादन गर्ने किसानलाई कोल्ड स्टोरमा भण्डारणका लागि समेत अनुदान उपलब्ध गराइँदै आएको छ । 

उनले विशेष गरी बेमौसमी तरकारी खेतीमा थोपा सिँचाइ प्रविधिको प्रयोग बढ्दै गएको बताए । जलवायु परिवर्तनका कारण पानीका स्रोत घट्दै गएका क्षेत्रमा कम पानीमै बढी उत्पादन लिन सकिने भएकाले यो प्रविधिलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिएको उनको भनाइ छ ।

‘थोपा सिँचाइबाट बिरुवालाई आवश्यक पर्ने पानी सिधै जरामा पुग्छ,’ पनेरुले भने, ‘यसले पानीको अत्यधिक बचत हुन्छ, उत्पादन र उत्पादकत्व दुवै बढ्छ । सुरुमा लागत केही बढी लागे पनि दीर्घकालीन रूपमा यो निकै प्रभावकारी प्रविधि हो ।’ उनका अनुसार गत आर्थिक वर्षमा मात्रै टनेलभित्र र टनेलबाहिर थोपा सिँचाइ प्रणाली जडानका लागि १० जना किसानलाई अनुदान प्रदान गरिएको थियो । हाल जिल्लाभर व्यावसायिक रूपमा कृषि गरिरहेका करिब एक सय किसानले थोपा सिँचाइ प्रविधि अपनाइसकेका छन् । 

डडेल्धुरामा हाल १ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । पछिल्ला वर्षमा बिउ आलु उत्पादनमा जिल्लाले पहिचान बनाउँदै गएको अवस्थामा आधुनिक सिँचाइ, कृषि यान्त्रिकीकरण र उन्नत प्रविधिको प्रयोग बढ्दै जाँदा उत्पादन वृद्धि मात्र नभई किसानको आम्दानीसमेत बढेको छ । जलवायु परिवर्तनको चुनौतीबीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिँचाइ प्रभावकारी विकल्पका रूपमा स्थापित हुँदै गएको कृषि प्राविधिकहरू बताउँछन् ।

तर्कराज

Link copied successfully