विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रलाई आरोग्य पर्यटनको केन्द्र बनाएर योग, ध्यान, आयुर्वेद र परम्परागत चिकित्सा समेटिएको नयाँ प्याकेज ल्याइदै
What you should know
काठमाडौं — नेपाललाई अन्तर्राष्ट्रियस्तरमा आरोग्य (वेलनेस) पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने उदेश्यले अन्नपूर्ण पदमार्गसहित नेपालका प्रमुख हिमाली पदयात्रा मार्गलाई 'आरोग्य परिपथ'का रूपमा विकास गरिने भएको छ ।
यसका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र बेलायती नियोगको सहयोगमा सञ्चालित 'नेपाल इन बिजनेस' (एनआईबी)बीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । पर्यटन मन्त्रालयले जारी गरेको ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति (२०१६-२०३५)’ र हालै स्वीकृत ‘कार्ययोजना (२०२६-२०३०)’ मा पहिलो चरणमा विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदयात्रा परिपथलाई आरोग्य पर्यटन परिपथका रूपमा ब्रान्डिङ र प्याकेजिङ गरिने उल्लेख छ।
सहमतिअनुसार अन्नपूर्ण क्षेत्रमा योग तथा ध्यान, आध्यात्मिक र प्राकृतिक उपचार, आयुर्वेद तथा सोवा रिग्पा (हिमाली परम्परागत चिकित्सा) र स्पा तथा मसाज जस्ता आरोग्य सेवालाई समेटेर विशेष प्याकेज र यात्रा तालिका तयार गरिनेछ।
टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले नेपालको परम्परागत पदयात्रा पर्यटनलाई नयाँ आयाम दिन यो कदम कोशेढुङ्गा साबित हुने जनाए । नेपालको पदयात्रा पर्यटन अहिलेसम्म दृश्य अवलोकन र शारीरिक साहसिकतामा मात्र बढी केन्द्रित थियो । अब हामी यसलाई मानसिक, आध्यात्मिक र शारीरिक स्वास्थ्य लाभसँग जोड्दै छौँ,' टानले विज्ञप्तिमा भनेको छ, 'अन्नपूर्ण परिपथमा हाम्रा आफ्नै हिमाली चिकित्सा पद्धति (सोवा रिग्पा), आयुर्वेद, ध्यान र प्राकृतिक उपचारका प्रचुर सम्भावना छन् । राउन्ड अन्नपूर्णलाई आरोग्य परिपथका रूपमा ब्रान्डिङ गरी तयार गरिने यी प्याकेजहरूले गुणस्तरीय र लामो समय बस्ने पर्यटक भित्र्याउन ठूलो मद्दत पुग्नेछ ।'
सेढाईंका अनुसार अन्नपूर्ण परिपथको सफल सिकाइ र मोडलका आधारमा अन्य हिमाली तथा पहाडी क्षेत्रहरू लिमी उपत्यका, रारा, डोल्पा, मनास्लु, लाङटाङ, हेलम्बु, लप्ची, रोल्वालिङ, खुम्बु र कञ्चनजङ्घामा पनि क्रमश: यस्ता आरोग्य परिपथहरू विस्तार गर्दै लैजाने योजना छ ।
सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ का रूपमा मनाउने घोषणा गरिसकेकाले सन् २०२७ को सुरुवातदेखि नै टानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यसको प्रवर्द्धन र बजारीकरण सुरु गर्ने तयारी गरेको छ ।
समझदारी पत्रमा टानका तर्फबाट अध्यक्ष सागर पाण्डे र एनआईबीका तर्फबाट टिम लिडर रतिश बस्न्यातले हस्ताक्षर गरेका थिए ।
