नेपालमा पर्यटक आगमन १२ लाख नाघ्यो

भ्रमण गर्नेहरूमा सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतको छ। कुल आगमनको करिब २५.७६ प्रतिशत अर्थात् ३ लाख ११ हजार ५३१ जना पर्यटक भारतबाट मात्रै आएका हुन्।

श्रावण ९, २०८३

कान्तिपुर संवाददाता

Tourist arrivals in Nepal surpass 1.2 million

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अवधिमा कुल १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

भ्रमण गर्नेहरूमा सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतको छ। कुल आगमनको करिब २५.७६ प्रतिशत अर्थात् ३ लाख ११ हजार ५३१ जना पर्यटक भारतबाट मात्रै आएका हुन्।

भारतपछि अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ जना पर्यटक नेपाल आएका छन्, जसले नेपालको पर्यटनमा अमेरिका र चीनलाई क्रमशः दोस्रो र तेस्रो ठूलो स्रोत बजारका रूपमा स्थापित गरेको छ।

त्यस्तै, बंगलादेश (५८,१६३), बेलायत (५६,६४९), अस्ट्रेलिया (५३,१९५), श्रीलंका (४३,२११) र भुटान (३६,२८९) बाट पनि उल्लेखनीय संख्यामा पर्यटक भित्रिएका छन्। यसबाहेक म्यानमार, जर्मनी, थाइल्यान्ड, जापान र मलेसियाबाट आउनेको संख्या पनि २५ हजारभन्दा माथि छ।

तथ्याङ्कअनुसार पर्यटकीय सिजन मानिने कात्तिक (अक्टोबर/नोभेम्बर) मा सबैभन्दा बढी १ लाख २४ हजार ८२९ जना पर्यटक नेपाल आए। यस्तै, चैतमा १ लाख १९ हजार, फागुनमा १ लाख १४ हजार र असोजमा १ लाख ११ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए।

सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरिसकेकाले चालु वर्षमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरिएको छ।

अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउनेतर्फ केन्द्रित हुने बोर्डले शनिबार जारी विज्ञप्तिमा जनाएको छ।

कान्तिपुर

Link copied successfully