विद्युत् प्राधिकरणको टोलीद्वारा मोरङ–सुनसरीका वितरण प्रणाली एवं पूर्वाधारको अनुगमन

विद्युत् आपूर्ति समस्या समाधान र सेवा सुधारका लागि दिर्घायु श्रेष्ठ नेतृत्वको उच्च टोलीले मोरङ र सुनसरीका वितरण प्रणालीको स्थलगत अनुगमन आरम्भ गरेको हो ।

श्रावण ९, २०८३

कान्तिपुर संवाददाता

Monitoring of Distribution System and Infrastructure in Morang–Sunsari by Nepal Electricity Authority Team

What you should know

काठमाडौँ — पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठसहितको टोलीले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ ।

विराटनगरलगायत पूर्वी क्षेत्रमा पटक–पटक विद्युत् अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जानेबारे जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनअनुसार प्राधिकरणका कामु कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली पूर्वी क्षेत्रमा पुगेको हो ।

प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरीलगायतका जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत् आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल गरेको छ । प्रादेशिक कार्यालयमा २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्था अवलोकन गरी आवश्यक तयारीलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्ने गरी कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ । मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाएर निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । दुवै सबस्टेसन रणनीतिक रुपमा महत्त्वपूर्ण रहेकाले आवश्यक समन्वय, सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिइएको छ । साथै पर्याप्त मजदुर परिचालन गर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिइएको छ । 

प्राधिकरणका अनुसार पूर्वी क्षेत्रमा सञ्चालित अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमनसमेत जारी छ । विद्युत् सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई आवश्यक समन्वय, सहजीकरण र जिम्मेवारीपूर्वक काम गर्न प्रोत्साहित गरिएको प्राधिकरणले जनाएको छ ।

कान्तिपुर

Link copied successfully