बुद्ध एयरको नयाँ पुस्ताको एटीआर ७२-६०० आइपुग्यो 

पोखरा उडानका लागि गेम चेन्जर हुने बुद्ध एयरको भनाइ।

श्रावण ९, २०८३

सुरज कुँवर

Buddha Air's new generation ATR 72-600 has arrived

What you should know

काठमाडौँ — आन्तरिक उडानको पहुँच र दैनिक उडान सङ्ख्याका आधारमा देशकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो बेडामा नयाँ पुस्ताको अत्याधुनिक एटीआर ७२-६०० सिरिजको विमान थप गर्दै नेपाली हवाई सेवामा नयाँ प्राविधिक अध्यायको सुरुवात गरेको छ।

बिहीबार फ्रान्सको टुलुजबाट उडान भरेको 'नाइनएन-एओएस' कल साइनयुक्त उक्त विमान इजिप्टको कायरो र ओमानको मस्कट हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बिहान अवतरण भएको हो । 

क्याप्टेन ओलिभर मोन्थुएल र क्याप्टेन समित लाछकारले 'फेरी उडान' गरेर ल्याएको यस विमानलाई आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रियाहरू पूरा गरी शीघ्र व्यावसायिक उडानमा ल्याउने तयारी गरिएको छ । 

झन्डै डेढ अर्ब रुपैयाँको लागतमा ब्राजिलको एक निजी वायुसेवासँग खरिद गरिएको यो विमान थपिएसँगै बुद्ध एयरको कुल विमान सङ्ख्या १७ पुगेको छ, जसले कम्पनीको दैनिक १४० भन्दा बढी उडान तथा मर्मत तालिकालाई अझ सुदृढ र भरपर्दो बनाउनेछ।

नेपालको उड्डयन क्षेत्रमा भित्र्याइएको यो ६०० सिरिज साविकका ४२ र ७२-५०० सिरिजभन्दा प्राविधिक र सुरक्षाका दृष्टिले निकै अत्याधुनिक मानिन्छ । टेलस कम्पनीद्वारा निर्मित पूर्ण डिजिटल ‘ग्लास ककपिट’ जडान गरिएको यस विमानमा ५ वटा मल्टिफंक्शनल एलसीडी स्क्रिन, डिजिटल फ्लाइट म्यानेजमेन्ट र स्वचालित सुरक्षा प्रणाली समावेश छन् । 

Buddha Air's new generation ATR 72-600 has arrived

इन्धन खपत कम गर्ने र ध्वनि प्रदूषण घटाउने विशेषताका कारण वातावरणमैत्री मानिएको यस विमानको सबैभन्दा ठूलो प्राविधिक सबलता भनेको भूउपग्रहमा आधारित उच्चस्तरीय आरएनपी-एआर नेभिगेसन क्षमता हो । 

यो अत्याधुनिक प्रणालीका कारण कठिन भौगोलिक बनावट र खराब मौसमका बीच पनि काठमाडौं, भैरहवा र विशेष गरी पोखरा जस्ता विमानस्थलहरूमा कम भिजिबिलिटीमासमेत विमानलाई डिजिटल रुट पछ्याउँदै पूर्ण सुरक्षित रूपमा अवतरण गराउन सकिने बुद्ध एयरले जनाएको छ ।

यस विमानको आगमनसँगै जोडिएर आएको सबैभन्दा महत्त्वपूर्ण र दूरगामी पाटो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुगमता र सञ्चालन सुधार हो । हाल पोखरामा प्रयोग भइरहेको परम्परागत इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) अनुसार उडान र अवतरण गर्दा कम्तीमा ३१ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ । जसका कारण विशेष गरी हिउँदको हुस्सु र वर्षात्‌को समयमा ठूलो सङ्ख्यामा उडानहरू ढिलाइ, डाइभर्ट वा रद्द हुने गरेका छन् । 

तर, नयाँ विमानमा रहेको आरएनपी-एआर प्रविधि नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा पोखरामा पूर्ण रूपमा कार्यान्वयनमा आउँदा दृश्यता घटेर २ हजार मिटर वा सोभन्दा पनि कम (१७ सय मिटरसम्म) झरेको अवस्थामासमेत सुरक्षित उडान र अवतरण सम्भव हुने भनिएको छ । 

यसबाट खराब मौसमका कारण हुने उडान रद्दको दर ३ प्रतिशतभन्दा तल झर्ने अनुमान गरिएको छ । जसले पोखराको हवाई यात्रालाई अत्यन्तै विश्वसनीय र भरपर्दो बनाउनेछ।

पोखरामा भूउपग्रहमा आधारित यस प्रवधिको सफल स्थापनाले आन्तरिक उडानलाई मात्र नभई अन्तर्राष्ट्रिय उडानका लागि समेत ढोका खोल्ने रणनीतिक योजना बुद्ध एयरले बनाएको छ । प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय वायुसेवाहरू पोखरा आउन हिचकिचाइरहेको परिप्रेक्ष्यमा यो प्रविधि एक 'गेम चेन्जर' सिद्ध हुने बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए । 

उनका अनुसार आरएनपी-एआर प्रणाली स्थापित भइसकेपछि दोस्रो चरणमा बुद्ध एयरले एयरबस (ए३१९) जस्ता जेट विमानमार्फत पोखराबाट सोझै अन्तर्राष्ट्रिय 'पोइन्ट-टु-पोइन्ट' उडान सञ्चालन गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ । एयरबसको तीव्र गतिमा माथि चढ्न सक्ने क्षमता र युरोपेली नेभिगेसन प्रणाली 'न्याभ ब्लू' को प्राविधिक विश्लेषणलाई जोडेर पोखरालाई सीधा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्न सकिनेछ ।

कम्पनीले आगामी केही महिनाभित्रै थप दुइ वटा ६०० सिरिजका एटीआर विमान भित्र्याएर आफ्नो सेवालाई अझ व्यापक बनाउने योजना बनाएको छ । 

हाल काठमाडौँबाट भारतको वाराणसी र कोलकातामा समेत अन्तर्राष्ट्रिय उडान भरिरहेको बुद्ध एयरका लागि नयाँ प्रविधिको प्रयोगमार्फत आन्तरिक तथा प्रादेशिक उडानहरूलाई भरपर्दो बनाउनु मुख्य प्राथमिकता बनेको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully