बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले शुक्रबार नै बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग कुन–कुन ठाउँमा कस्तो पूर्वाधार आवश्यक छ भनेर सल्लाह गरेका थिए । त्यहाँको सडक सञ्जाल अवस्थाबारे पनि जानकारी लिएका थिए ।  

श्रावण ८, २०८३

कान्तिपुर संवाददाता

Communication Minister directs immediate provision of telephone and internet services in Badimalika

काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‌याउन निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री तिमिल्सिनाले चासो देखाउँदै तत्काल सेवा पुर्‌याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् ।

बडीमालिकामा सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट सामान ढुवानी गर्ने व्यवस्था गर्न मन्त्रीले सुझाव दिएका छन् । शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ । टेलिफोन टावर निर्माणका लागि धनगढी, कैलालीसम्म सामान ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकोप्टर उपलब्ध भए चाँडो काम गर्न सकिने टेलिकमको भनाइ थियो । 

देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको  सञ्चार मन्त्रालयले जनाएको छ । बडीमालिकालगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जतिसक्दै चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्री तिमिल्सिनाले  शुक्रबारनै प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गरेका थिए । मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी (बेटिङ) एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको थियो  । 

नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धताअनुसार नेपाल टेलिकमले काम गरिरहेको छ । बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४२०० मिटर उचाइ) मा फोर-जी सेवा तत्काल गर्ने लक्ष्य राखेको छ । साथै सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोर-जी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको टेलिकमले जनाएको छ ।

कान्तिपुर

Link copied successfully