जुम्लामा महको भाउ ५ सय रुपैयाँ बढ्यो, अब किलोकै २५ सय

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले यस वर्ष ५ सय रुपैयाँले महको भाउ बढाएको हो ।

श्रावण ७, २०८३

डीबी बुढा

In Jumla, the price of honey has increased by 500 rupees, now 2,500 per kilo

What you should know

जुम्ला — जुम्लामा महको भाउ प्रतिकेजी २ हजार ५ सय रुपैयाँ तोकिएको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिले गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५ सय रुपैयाँले महको मूल्य बढाएको हो । गत आर्थिक वर्षमा महको भाउ प्रतिकेजी २ हजार रुपैयाँ निर्धारण भएको थियो । 

सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८(क) बमोजिम महको मूल्य तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मौरीपालक किसान चन्दननाथ नगरपालिका–४ का नारायण चौलागाईले महको भाउ तोकिएपछि किसान उत्साहित बनेको बताए । ‘पहिले महको मूल्यमा एकरूपता थिएन। किसान आ-आफ्नै भाउमा मह बेचिरहेका थिए,’ चौलागाईंले भने, ‘गत वर्षदेखि जिल्ला दररेट निर्धारण समितिले मूल्य तोकिदिन थालेपछि अहिले बजार पनि राम्रो छ ।’ उनले लामो समय देखिएको मौरीपालक किसानको माग सम्बोधन भएकामा खुसी व्यक्त गरे । 

समितिले मह मात्र नभएर मौरीघारसमेतको मूल्य तोकेको छ । मौरीसहितको स्थानीय घारको मूल्य प्रतिगोटा १० हजार रुपैयाँ तोकिएको छ । गत आर्थिक वर्षमा घारको मूल्य ९ हजार तोकिएको थियो । मौरीबाहेकको स्थानीय घारको मूल्य गत वर्षको भन्दा घटेको छ । गत आर्थिक वर्षमा ६ हजार ५ सय रुपैयाँ तोकिएकामा यस वर्ष ६ हजार मात्र राखिएको हो । 

मौरीसहितको जुम्ली टपबार घार प्रतिगोटा १३ हजार, मौरीबाहेकको जुम्ली टपबार घार ८ हजार रुपैयाँ मूल्य निर्धारण भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपेन्द्रसिंह धामीले जानकारी दिए। 

उनका अनुसार गत वर्ष क्रमशः घारको भाउ १२ हजार र ८ हजार रुपैयाँ थियो । समितिले कम्तीमा ९ फ्रेम भएको जुम्ली न्युटन मौरीको खालीघार प्रतिगोटा ५ हजार रुपैयाँ, ९ फ्रेम भएको सुपरसहितको मौरीको खाली घार प्रतिगोटा ७ हजार रुपैयाँ र मौरीको प्रतिफ्रेम १ हजार ५ सय रुपैयाँ तोकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सूचना अधिकारी धामीले जिल्लामा उत्पादन भएको मह र घारको मूल्य तोकिएपछि किसानहरूमा मौरीपालन गर्न उत्साह मिलेको बताए । उनले भने, ‘पछिल्लो समय महको मूल्य तोकिँदा किसान निकै खुसी छन् ।’

यहाँको मह सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौंलगायतका सहरमा पुग्ने गरेको छ । जुम्ला आउने पर्यटकले समेत यहाँका मह लैजाने गरेका छन् । मौरीपालक किसान धनजित बुढाले अब सरकारले तोकेको मूल्यमा मह खरिद गरेर लैजान उपभोक्तालाई सहज भएको बताए । उनले भने, ‘महको मूल्य तोकिएसँगै अब मौरीको बिमाको सुविधा पनि हुनुपर्ने माग राखिएको छ ।’ पहिले मौरी बिमा गर्न जाँदा दररेट चाहिने भन्दै बिमा कम्पनीले नमानेको उनले बताए । 

जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा मौरीपालन हुने गरेको छ । मौरीपालन कृषि सहकारी संस्था जुम्लाका अनुसार जिल्लामा ८ हजार भन्दा बढी मौरीका घार रहेको तथ्यांक छ । एक घारबाट न्यूनतम ५ देखि ७ केजीसम्म मह निकाल्ने गरिएको छ । एपी सेराना जातको मौरीपालन हुने यहाँ कात्तिक महिनामा मह निकाल्ने गरिएको छ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully