गत वर्ष २९ अर्ब ३२ करोड रुपैयाँको बिजुली निर्यात

आर्थिक वर्ष २०८१/०८२ मा १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको बिजुली निर्यात गरेको थियो ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Last year, electricity worth Rs 29.32 billion was exported

What you should know

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८२/०८३ मा भारत र बंगलादेशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको बिजुली निर्यात गरेको थियो । 

बिजुली निर्यात बढ्दा आयात भने घट्दो क्रममा रहेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँको बिजुली आयात गरिएको थियो भने आर्थिक वर्ष २०८२/०८३ मा १० अर्ब २२ करोड ७४ लाख रुपैयाँको मात्रै बिजुली आयात गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई पनि बिजुली बेच्ने गरेको छ । यहाँबाट खरिद गरेको बिजुली एनभीभीएनले हरियाणा राज्यमा आपूर्ति गर्दै आएको छ ।

भारतसँग विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । बंगलादेशसँग भने डलरमा बिजुली निर्यात भइरहेको छ । नदी तथा खोलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत् निर्यात गर्दै आएको हो ।

हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन घटेका बेला स्वदेशको माग धान्न हिउँदका केही महिनामा भारतबाटै बिजुली आयात गरिन्छ । 

कान्तिपुर

Link copied successfully