विद्युत् नियमन आयोगमा रामप्रसाद धिताल फेरि नियुक्त

धिताल यसअघि आयोगकै अध्यक्ष थिए । अध्यादेश जारी भएसँगै उनी पदमुक्त भएका थिए । उनै धिताललाई सरकारले फेरि नियुक्त गरेको हो ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Ram Prasad Dhital reappointed to the Electricity Regulatory Commission

What you should know

काठमाडौँ — सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा सिन्धुपाल्चोकका रामप्रसाद धिताललाई नियुक्त गरेको छ ।  झन्डै ३ महिनादेखि नेतृत्वविहीन रहेको आयोगको अध्यक्षमा धिताललाई नियुक्त गरिएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

सरकारले वैशाखमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम पदाधिकारी स्वतः पदमुक्त भएपछि विद्युत् नियमन आयोग करिब ३ महिनादेखि नेतृत्वविहीन थियो ।

धिताल यसअघि आयोगकै अध्यक्ष थिए । अध्यादेश जारी भएसँगै उनी पदमुक्त भएका थिए । उनै धिताललाई सरकारले फेरि नियुक्त गरेको हो । 

आयोग नेतृत्वविहीन हुँदा करिब ४० जना कर्मचारीले तलब पाउन सकेका थिएन । असारमा ऊर्जामन्त्री श्रेष्ठले असारसम्मका लागि भन्दै आर्थिक अधिकार दिएपछि मात्रै आयोगका कर्मचारीले तलब पाएका थिए ।त्यस्तै प्रवर्द्धकहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ), हकप्रद सेयर (राइट) स्वीकृति र सेयर संरचना परिवर्तनजस्ता दैनिक कामहरू अलपत्र परेको छ  ।

अध्यक्षको सिफारिस समितिमा मन्त्रालयका सचिव सरिता दवाडीको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य थिए ।

अध्यक्षका लागि  ई. रुद्रप्रसाद गौतम, केशव अधिकारी,  डा. रामप्रसाद धिताल,  रामेश्वरप्रसाद कलवार,  मधुप्रसाद भेटवाल,  मोतीबहादुर कुँवर,  डा. मधुसुधन अधिकारी , डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र  डा. शान्तिकला सुवेदी थिए ।

धिताल ऊर्जा, विद्युत् नियमन, जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रका २५ वर्षभन्दा बढी अनुभव छ । उनले वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रको कार्यकारी निर्देशकको रूपमा ४ वर्ष समेत काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्यामपसबाट सिभिल इन्जिनियरिङ संकायमा स्नातक तह (१९९७) तथा जर्मनीको ओल्डेनवर्ग विश्वविद्यालयबाट नवीकरणीय ऊर्जाइन्जिनियरिङ विषयमा स्नातकोत्तर र पुल्चोक क्याम्पसबाट नवीकरणीय ऊर्जा इन्जिनियरिङमा विद्यावारिधि समेत गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully