अब बैंक, मनीचेञ्जर, होटेल, एअरलायन्सलगायत विदेशी मुद्रा सटही अनुमति पाएका निकायले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म निर्बाधरुपमा सटही गर्न सक्नेछन् । बिहीबार राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था यही मात्र हो ।
What you should know
काठमाडौँ — अब विदेशी मुद्रा सटहीका अनुमति पाएका बैंक, मनि एक्सचेञ्जर, होटेल, एयरलायन्सलगायतले प्रतिव्यक्ति भारु २५ हजारसम्म सटही गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले बिहीबार सूचना निकालेर उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकले २८ पुस २०८२ मै निर्देशन जारी गरेर नेपाली र भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारसम्म नेपाल ल्याउन तथा भारत लैजान पाइने व्यवस्था गरेको थियो । उक्त सूचनामा नेपाली वा भारतीय नागरिकले भारतीय रुपैयाँ २ सय र ५ सय दरका २५ हजारसम्म ल्याउन, लैजान मात्र छुट दिएको थियो । तर २५ हजार भारु रकम सटही गर्न बैंक वा मनिजेञ्जर कम्पनीहरुलाई अनुमति दिइएको थिएन । किनकि बैंक र मनिचेञ्जर हुँदै आफूसमक्ष पुगेको भारतीय मुद्रा भारतीय केन्द्रीय बैंकले साटिदिने सुनिश्चितता राष्ट्र बैंकले पाएको थिएन ।
यसअघि ९ नोभेम्बर २०१६ मा भारत सरकारले प्रतिबन्ध लगाएका ५ सय र हजार दरको करिब ५ करोड रुपैयाँ अहिले पनि राष्ट्र बैंकमै छ । पटक-पटक ताकेता गर्दा पनि भारतीय पक्षले त्यो पैसा साटिदिएको छैन । यही कारण ९ नोभेम्बर २०१६ मा भन्दापछि प्रकाशित भएका २ सय र ५ सयका भारु नोट राष्ट्र बैंकले पनि सटही गरिदिएको थिएन । राष्ट्र बैंकले नसाटिदिएपछि बैंक र मनीचेञ्जरहरुले पनि साटिदिएका थिएनन् । यही कारण पशुपतिनाथलगायत विभिन्न मठमन्दिर, होटेल, धर्मशालालगायतमा २ सय र ५ सयका भारु थुप्रिएका थिए ।
यो समस्या समाधानमा लागि राष्ट्र बैंकले पटक-पटक भारतीय केन्द्रीय बैंकसँग आग्रह गर्दै आएको थियो । स्रोतका अनुसार करिब एक महिनाअघि नेपालका गभर्नर विश्वनाथ पौडेल र भारतीय केन्द्रीय बैंकका गभर्नर संजय मल्होत्राबीच भारतले नेपालमा संकलन भएको भारु नसाटिएको विषयमा छलफल भएको थियो । सो छलफलमा गभर्नर मल्होत्राले यो समस्या लिखित रुपमै समाधान गरिदिने आश्वासन दिएका थिए । सोही आश्वासनबमोजिम भारतीय केन्द्रीय बैंकको पत्र बिहीबार (७ साउन २०८३) मा राष्ट्र बैंकले प्राप्त गरेको थियो । सोही पत्रका आधारमा सोही दिन राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।
यो निर्देशनसँगै अब बैंक, मनीचेञ्जर, होटेल, एअरलायन्सलगायत विदेशी मुद्रा सटही अनुमति पाएका निकायले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म निर्बाधरुपमा सटही गर्न सक्नेछन् । बिहीबार राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था यही मात्र हो ।
यस्तै, नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजारबराबर हुन आउने भारतीय रुपैयाँसम्म र यस बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबरसम्म) भन्सार घोषणाबिना नेपालमा भित्र्याउन सक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकले यसअघि नै गरेको हो ।
‘सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५ सय र १ हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था रहेको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरिएको छ ।’
यस्तै, नेपाली नागरिकले भारतबाहेक मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।
