लगानी बोर्डको सीईओका उम्मेदवारमा सुमनमान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याव, बखतबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल छन् ।
What you should know
काठमाडौँ — लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्तिका लागि प्रस्तुतीकरण र अन्तर्वार्ता सुरु भएको छ ।
बोर्डको सीईओ नियुक्तिका लागि सिफारिस समितिको कार्यालयका अनुसार प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सुरु भएको हो । बिहीबार ४ र शुक्रबार ४ जना उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ । प्रस्तुतीकरण र अन्तर्वार्ताको समय १ घण्टाको हुनेछ ।
उम्मेदवारहरूमा सुमनमान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, डा. सरोज कोइराला, याङ्की उक्याव, बखतबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल छन् । बस्न्यात, धिताल, पौड्याल र कोइरालाको बिहीबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता भइसकेको र उक्याव, शाही, पौडेल र भेटुवालको शुक्रबार प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुँदैछ ।
धिताल कर्मचारी सञ्जय कोषको कार्यकारी निर्देशक हुन् । शाही विद्युत् उत्पादन कम्पनीका पूर्वसिईओ हुन् भने २०८२ को प्रतिनिधिसभाको निर्वाचनमा दैलेखबाट उम्मेदवार थिए । भेटुवाल पूर्वऊर्जा सचिव हुन् ।
सरकारले वैशाखमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम सीईओ सुशील ज्ञवाली स्वतः पदमुक्त भएका हुन् ।
लगानी बोर्डको सीईओ सिफारिसका लागि अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट सदस्य छन् भने प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल विज्ञ सदस्य छन् ।
सिफारिस समितिको सचिवालयले २९ जेठमा १५ दिनभित्र निवेदन बुझाउन सूचना निकालेको थियो । लगत्तै १८ असारमा फेरि समय थप गर्दै सूचना सार्वजनिक गरेको थियो ।
