७ दिनदेखि ठप्प तातोपानी नाका, करोडौंका सामान बोकेका कन्टेनर अलपत्र

सडक पहिरो र भासिँदा चीनतर्फ करोडौं रुपैयाँका सामान बोकेका करिब १ सय ५० कन्टेनर रोकिए, नेपालतर्फ पनि दर्जनौं कन्टेनर अलपत्र

श्रावण ६, २०८३

अनिश तिवारी

Tatopani border point closed for 7 days, containers carrying goods worth millions stranded

What you should know

सिन्धुपाल्चोक — लगातारको वर्षापछि नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका ७ दिनदेखि ठप्प छ । सडक पहिरो र भासिँदा चीनतर्फ करोडौं रुपैयाँका सामान बोकेका करिब १ सय ५० कन्टेनर रोकिएका छन् । नेपालतर्फ पनि दर्जनौं कन्टेनर अलपत्र परेका छन् ।

भूकम्पयता उठ्न नसकेको तातोपानी बजारमा बर्सेनि दोहोरिने यही समस्या फेरि दोहोरिएपछि व्यापारीले ‘हिरो नाका अहिले जिरो नाका बनेको’ भन्दै सरकारप्रति गुनासो गरेका छन् ।

नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका मंगलबारसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सीमा नाकाको लिपिङमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अघिल्लो सोमबारदेखि अवरुद्ध बनेको कोदारी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

लिपिङ र डाक्लाङ क्षेत्रमा सडक खुले पनि इकोमा दैनिक सडक भासिएकाले आवागमन ठप्प रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीले जनाए । त्यसका कारण पहिरोपारि स्याउ, सुन्तला, अदुवा, रेडिमेड, उपकरणलगायत सामग्री बोकेका करिब १ सय ५० कन्टेनर रोकिएका छन् । सडक नखुल्दा चीनको न्यालम र अन्य क्षेत्रमा करोडौं रुपैयाँका सामान लोड गरिएका ५० भन्दा बढी कन्टेनर उतै अलपत्र छन् । ‘सरकारले हाम्रो समस्या कहिले देख्छ ?’ उनले भने ।

मनसुन ढिलो सुरु भएकाले गत असार २७ सम्म नियमित सञ्चालनमा रहेको तातोपानी नाका यस वर्ष पहिलो पटक वर्षाका कारण ठप्प भएको हो । दुई दिनको वर्षापछि सीमा क्षेत्र लिपिङमा पहिरो खसेको छ भने बर्सेनि समस्या दोहोरिने इको क्षेत्रमा सडक भोटेकोशी नदीतर्फ बगेको छ । लामो समयपछि नियन्त्रणमा आएको डाक्लाङ पहिरो पनि पुनः सक्रिय बनेको छ ।

दिनहुँ लिपिङमा पहिरो पन्छाइसकिएको र डाक्लाङमा पनि सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बताए । तर इको क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले मर्मतमा कठिनाइ भएको र सडक खुलाउने प्रयास जारी रहेको उनले जनाए ।

गत सोमबार लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अवरुद्ध बनेको कोदारी सडकखण्ड मर्मत गरी बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो । सडक खुलेसँगै सीमापार कन्टेनर आवतजावत पनि सुरु भएको थियो । तर बिहीबार रातभरको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको पानीले सडक बगाएपछि नाका फेरि बन्द भएको थियो ।

दशक बित्दा पनि बनेन कोदारी राजमार्ग

नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार तातोपानी नाकासम्मको बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडक २०७२ को भूकम्पयता पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन । रणनीतिक महत्त्वको यो सडक वर्षायाममा हरेक वर्ष अवरुद्ध हुने क्रम दोहोरिँदै आएको छ ।

चिनियाँ अनुदान र चिनियाँ निर्माण कम्पनीलाई जिम्मा दिइए पनि सडकको अवस्था नफेरिएको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । ‘फेरि चिनियाँ अनुदान, चिनियाँ कम्पनी र चिनियाँ ठेकेदार, तर सडकको अवस्था उही छ,’ उनले भने ।

भूकम्पपछि कोदारी राजमार्ग पुनर्निर्माण र पहिरो नियन्त्रणका लागि चीन सरकारले विभिन्न चरणमा ठूलो आर्थिक सहयोग घोषणा गरेको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवको चीन भ्रमणका क्रममा १४ चैत २०७१ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले ९० करोड चिनियाँ युआन (करिब १६ अर्ब २० करोड रुपैयाँ) बराबर सहयोग घोषणा गरेका थिए । यसअघि पनि चीनले करिब ४८ करोड ४९ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको थियो ।

सोही सहयोगअन्तर्गत सडक मर्मत र कालोपत्रेको जिम्मा चिनियाँ कम्पनी चाइना रेलवे फोर्थ कन्स्ट्रक्सन ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) ले पाएको थियो । तर एक दशक बित्न लाग्दासमेत कोदारी–तातोपानी सडकका धेरै स्थान जोखिमपूर्ण अवस्थामै छन् ।

गत वर्ष पनि पहिरोका कारण तातोपानी नाका करिब तीन महिना बन्द भएको थियो । त्यसपछि स्थानीयको दबाबमा पहिरो नियन्त्रणका लागि ४८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

नेपाली कम्पनीसँग ठेक्का सम्झौता भई करिब १५ प्रतिशत काम सम्पन्न भइसकेपछि परराष्ट्र मन्त्रालयको पत्रका आधारमा ठेक्का रद्द गरिएको सडक डिभिजन प्रमुख भण्डारीको भनाइ छ । मन्त्रालयले उक्त क्षेत्रमा चिनियाँ कम्पनीमार्फत निर्माण गराउने निर्णय गरे पनि निर्माण कम्पनी अहिलेसम्म कार्यस्थलमा आएको छैन ।

नेपाल र चीनबीच दुई चरणको सम्झौता सम्पन्न भए पनि कार्यान्वयन सम्झौता हुन बाँकी छ । वर्षायामपछि चिनियाँ कम्पनीले इको क्षेत्रमा स्थायी पहिरो नियन्त्रणको काम सुरु गर्ने अपेक्षा गरिएको छ । इको पहिरोमाथि करिब १ सय ७५ घरधुरी रहेका र तलतिर भोटेकोशी नदीले निरन्तर कटान गरिरहेकाले दीर्घकालीन समाधान चुनौतीपूर्ण बनेको स्थानीयको भनाइ छ ।

बर्सेनि सडक अवरुद्ध हुने समस्या दोहोरिने भएकाले स्याउ बोकेका धेरै कन्टेनर केरुङ नाकातर्फ मोड्नुपरेको हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदाप्रसाद पराजुलीले बताए ।

‘भोटेकोशी नदीको कटानले भन्सार यार्डसमेत जोखिममा परेको छ । सडकमा पहिरो खस्दा सम्बन्धित निकायले समयमै हटाउन नसक्ने भएकाले व्यापारी आफैंले खर्च जुटाएर सडक मर्मत गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully