वीरगन्ज नाकाबाट भित्रिन थाल्यो डीएपी मल, युरिया पनि छिट्टै आउने

बुधबार बिहान करिब २५०० मेट्रिक टन डीएपी मल बोकेको पहिलो रेल्वे र्याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो ।

श्रावण ६, २०८३

शंकर आचार्य

DAP fertilizer has started entering through the Birgunj border, urea will also arrive soon

पर्सा — देशभर रासायनिक मलको अभाव भइरहेका बेला कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको डीएपी (डाइ-अमोनियम फस्फेट) मल वीरगन्ज नाकाबाट भित्रिन थालेको छ । बुधबार बिहान करिब २५०० मेट्रिक टन डीएपी मल बोकेको पहिलो रेल्वे र्याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो ।

कृषि सामग्री कम्पनीको वीरगञ्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार उक्त कन्साइनमेन्ट नम्बर १५४ अन्तर्गतको खेप हो । यसअन्तर्गत कुल ३० हजार मेट्रिक टन डीएपी मल आपूर्तिको ठेक्का भारतीय कम्पनी आईपीएलले पाएको छ ।  कम्पनीले रुसबाट खरिद गरेको मल कोलकाता बन्दरगाह हुँदै नेपाल पठाएको हो ।

उनका अनुसार अर्को रेल्वे र्याक बिहीबार बिहान वा साझसम्म वीरगन्ज आइपुग्ने छ । यस कन्साइनमेन्टअन्तर्गत ११ हजार ५०० टन मल वीरगन्ज, १० हजार टन भैरहवा र ८ हजार ५०० टन विराटनगर प्रादेशिक कार्यालयलाई उपलब्ध गराइनेछ । भैरहवाको हिस्सा पनि वीरगन्ज हुँदै ढुवानी गरिनेछ भने विराटनगरका लागि छुट्याइएको मल कोलकाताबाट सिँधै ट्रकमार्फत पठाइने छ ।

यसैबीच, कृषि सामग्री कम्पनीले आयात गरेको ६० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ । पाण्डेका अनुसार कन्साइनमेन्ट नम्बर १५० र १५५ अन्तर्गतको युरिया मल सिंगापुरस्थित आदित्य बिरला कम्पनीमार्फत आयात गरिएको हो । पहिलो ३० हजार टन मल कतारबाट र दोस्रो ३० हजार टन मल ओमानबाट ल्याइएको छ ।

हाल कोलकाता बन्दरगाहमा युरिया मल बोरामा प्याकिङ गर्ने काम भइरहेको छ । भैरहवा र विराटनगरतर्फ पठाइने मल सम्बन्धित नाकाबाट नेपाल प्रवेश गर्न थालिसकेको छ भने वीरगञ्जका लागि छुट्याइएको मल रेलमार्फत ल्याइने तयारी छ ।

कुल ६० हजार टन युरिया मलमध्ये २३ हजार टन वीरगञ्ज, २० हजार टन भैरहवा र १७ हजार टन विराटनगर प्रादेशिक कार्यालयले प्राप्त गर्नेछन् ।

कृषि सामग्री कम्पनीले मल प्राप्त भएपछि सम्बन्धित जिल्लामा तत्काल वितरण सुरु गर्ने जनाएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully