उद्योग वाणिज्य महासंघका ८ विषयगत समितिले पाए पूर्णता

महासंघका समितिहरूमा नयाँ सदस्यहरूले नीति संवाद, समस्या समाधान र सुधारका एजेन्डामा निजी क्षेत्रको अग्रणी भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ

श्रावण ६, २०८३

कान्तिपुर संवाददाता

Eight Thematic Committees of the Federation of Nepalese Chambers of Commerce and Industry Receive Full Formation

What you should know

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका ८ विषयगत समितिले पूर्णता पाएका छन् । समितिहरूका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई महासंघ सचिवालय, टेकुमा बुधबार आयोजित कार्यक्रममा मनोनयनपत्र हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको समृद्धिको महत्वपूर्ण आधार भएको बताए ।उनले समितिहरू सरकार र निजी क्षेत्रबीच नीतिगत संवाद, समस्या समाधान र सुधारका एजेन्डा अघि बढाउने प्रभावकारी संयन्त्र भएको उल्लेख गरे ।उनले भने, 'समितिका सदस्यहरूले आफ्नो अनुभव, विज्ञता र व्यावसायिक दक्षतालाई राष्ट्रको आर्थिक विकासमा उपयोग गर्नुपर्छ । उद्योग, व्यापार, लगानी, निर्यात, उद्यमशीलता तथा रोजगारी विस्तारका क्षेत्रमा परिणाममुखी ढंगले काम गर्न सके मात्रै समितिको उद्देश्य पूरा हुन्छ ।'

महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघको नीतिगत एजेन्डा निर्माणका महत्वपूर्ण आधार भएको बताउँदै निजी क्षेत्रका साझा मुद्दालाई एकीकृत रूपमा अघि बढाउन समितिहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे । उनले विभिन्न वस्तुगत संघहरूको अनुभव र सुझावलाई समितिमार्फत नीतिगत निर्णय प्रक्रियासम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले समितिहरूलाई निजी क्षेत्रका नयाँ सोच, नवप्रवर्तन र व्यावसायिक अवसर पहिचान गर्ने साझा मञ्चका रूपमा प्रयोग गर्नुपर्ने बताए ।उनले सरकारसँग तथ्यमा आधारित संवाद गर्दै सुधारका प्रस्ताव अघि बढाउन समितिहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

कोषाध्यक्ष मनिषलाल प्रधानले समितिहरूको प्रभावकारिता उनीहरूको कार्यसम्पादनबाट मापन हुने बताए । निजी क्षेत्रका व्यावहारिक समस्या  समाधान र आर्थिक गतिविधि विस्तारमा केन्द्रित भएर काम गर्न सदस्यहरूलाई उनले आग्रह गरे ।उनले समितिका सुझावहरूले महासंघको नीतिगत धारणा थप सशक्त बन्ने विश्वास व्यक्त गरे । 

महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल श्रेष्ठको सभापतित्वको उद्योग समिति, अरनिको राजभण्डारीको सभापतित्वको कर तथा राजस्व समिति, नानीराज घिमिरेको सभापतित्वको सीप विकास तथा रोजगार समिति, होमप्रसाद दाहालको सभापतित्वको निर्यात प्रवर्द्धन समिति, राजकुमार कार्कीको सभापतित्वको सामाजिक सेवा एवं विपद् तथा दैवी प्रकोप समिति, प्रियराज रेग्मीको सभापतित्वको पूँजी बजार समिति र  सनिता नेमाफुकीको सभापतित्वको महिला उद्यमी विकास समिति तथा साहारा जोशीको सभापतित्वमा गठित स्टार्टअप एण्ड एनोभेसन समितिका उपसभापति, सदस्य र सल्लाहकारहरूलाई मनोनयनपत्र प्रदान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully