नेप्सेमा ७ अंकको वृद्धि, साढे ६ अर्बको सेयर किनबेच

अघिल्लो दिनको तुलनामा नेप्से ०.२६ प्रतिशतले बढेर समग्र नेप्से २७२६.४९ अंकमा उक्लेको हो ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

NEPSE rises by 7 points, shares worth 6.5 billion are traded

काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ७.२५ अंकले बढेको छ । अघिल्ला ५ दिन लगातार बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो । यद्यपि, अघिल्ला दिनको तुलनामा मंगलबार नेप्सेको वृद्धिदर भने घटेको छ । गत शुक्रबार ७९.७४ र सोमबार ४१.७० अंकले नेप्से बढेको थियो ।

सेयर लगानीकर्ताले सोमबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भटेका थिए । भेटमा प्रधानमन्त्री शाहले सरकार सेयर बजारको समस्या समाधान गर्न तयार रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । यद्यपि, गत सातादेखि नै सेयर बजार बढिरहेको छ ।  

अघिल्लो दिनको तुलनामा नेप्से ०.२६ प्रतिशतले बढेर समग्र नेप्से २७२६.४९ अंकमा उक्लेको हो ।

मंगलबार कारोबारमा आएकामध्ये १०३ कम्पनीको सेयर मूल्य बढ्यो भने १६२ कम्पनीको घट्यो । तर सो दिन १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबार कुल ७५ हजार १० पटकको कारोबारमा १ करोड ४९ लाख २४ हजार ३ सय २ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढी हो । सोमबार ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापारको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटेको नेप्सेको तथ्यांक छ ।

कान्तिपुर

Link copied successfully