पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले पुँजीबजारको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरुसँगको भेटमा सोमबार प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजारमार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताएको बैठकमा सहभागीहरुले बताए ।
‘प्रधानमन्त्रीज्यूले हाम्रो कुरा गहन रुपमा सुन्नुभयो । त्यसपछि यो बजारमार्फत लगानी वृद्धि र रोजगारी सृजना हुनपर्छ, आवश्यक सहजीकरण गर्न सरकार तयार छ भन्नुभयो,’ बैठकमा सहभागी इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले भने, ‘प्रधानमन्त्रीज्यू बजारप्रति निकै सकारात्मक हुनुहुन्थ्यो । बजारका विकृति सुधारेर बजारमा स्वच्छ र प्रतिश्पर्धी बनाउन सरोकारवाला निकायहरुलाई छिट्टै निर्देशन दिने बताउनुभएको छ ।’
करिब एक घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमनलगाय विषयमा कुरा राखेका थिए । नेप्सेका अध्यक्ष अमृत लम्सालले दोस्रो बजारको सुधारका बारेमा र स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले धितोपत्र ब्रोकर र लगानीकर्ताको पक्षबाट विचार राखेका थिए ।
तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पुँजी बजारको विकासका लागि सरकार लागि परेकाले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गरेको स्रोतले बताएको छ ।
