शुक्रबारको तुलनामा नेप्से १.५५ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ७ सय १९.२४ अंकमा उक्लेको हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४१.७० अंकले बढेको छ । अघिल्ला चार दिन लगातार बढेको नेप्सेले सोमबार पनि सोही प्रवृति पछ्याएको हो ।
यद्यपि गत शुक्रबारको तुलनामा सोमबार नेप्सेको वृद्धिदरमा भने कमी आएको छ । गत शुक्रबार नेप्से ७९.७४ अंकले बढेको थियो ।
शुक्रबारको तुलनामा नेप्से १.५५ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ७ सय १९.२४ अंकमा उक्लेको हो । सोमबार कारोबारमा आएकामध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको घट्यो । तर, सो दिन ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कुल ६७ हजार १ सय ५५ पटकको कारोबारमा १ करोड २२ लाख ४५ हजार ३ सय ३७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामुहिक लगानी कोषबाहेक सबैको परिसूचक बढे ।
सोमबार सेयर लगानीकर्ताले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेका छन् । भेटमा प्रधानमन्त्री शाहले सरकार सेयर बजारको समस्या समाधान गर्न तयार रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
