भारतमा कुद्‍याे हाइड्रोजन रेल, नेपालमा पनि बढ्यो चासो

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमै ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी अघि सारिएको छ

श्रावण ४, २०८३

सीमा तामाङ

Hydrogen train runs in India, interest increases in Nepal too

What you should know

काठमाडौँ — सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन प्रारम्भिक तयारी गर्ने नीति लिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमै ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी अघि सारिएको छ । 

अर्कोतिर हाइड्रोजनमा आधारित सवारीको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमन गर्न नीतिगत, कानुनी तथा प्राविधिक आधारबारे बहस चलिरहँदा भारतले भने ‘हाइड्रोजन रेल’ सञ्चालनमा ल्याइसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जिन्द रेलवे स्टेसनबाट पहिलो ‘हाइड्रोजन रेल’ को उद्घाटन गरेका छन् । उक्त रेलको नाम ‘नमो ग्रिन रेल’ राखिएको छ । 

उक्त रेल हरियाणाको ‘जिन्द–सोनीपत’ ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ । यसका लागि न्यूनतम भाडा भारु ५ र अधिकतम भारु २५ तोकिएको छ । उक्त रेलमार्गमा जिन्द, गोहाना र सोनीपतसहित विभिन्न स्टेसन तथा हल्टमा सेवा दिनेछ । उक्त रेललाई भारतको स्वच्छ, दिगो र हरित रेल यातायाततर्फको ऐतिहासिक उपलब्धि बताइएको छ । विश्वका प्रायः हाइड्रोजन रेल दुईदेखि तीन कोचमा सीमित रहेका बेला भारतले भने १० कोचको रेल सञ्चालनमा ल्याएको हो । 

भारतमा हाइड्रोजन रेल सञ्चालनमा आउँदा यता नेपालमा पनि पूर्वाधार विकास मन्त्रालयले मुलुकमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमन गर्न आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्न सुझाव मागेको छ । रेलमा २ हजार ६ सय यात्रु बोक्ने क्षमता रहेको बताइएको छ । रेल सञ्चालनका लागि विद्युत् लाइन आवश्यक पर्दैन । रेलभित्र जडित ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’ मार्फत हाइड्रोजन र वायुमण्डलबाट प्राप्त अक्सिजनबीच हुने रासायनिक प्रतिक्रियाबाट विद्युत् उत्पादन गरिने भारतको रेल मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त विद्युत्ले ट्र्याक्सन मोटर सञ्चालन गरी रेलका पांग्रा घुमाउँछ । यस प्रक्रियाबाट जलवाष्प र ताप मात्र उत्पादन हुने भएकाले धूवाँ वा प्रत्यक्ष कार्बन उत्सर्जन नहुने विज्ञप्तिमा जनाइएको छ । 

पछिल्ला १२ वर्षमा भारतीय रेलले तीव्र गतिमा रेलमार्गको विद्युतीकरण गरेको छ । हाल भारतका ९९ प्रतिशतभन्दा बढी ब्रोडगेज रेलमार्ग विद्युतीकरण भइसकेका छन् । अब हाइड्रोजन प्रविधिको प्रयोगमार्फत स्वच्छ रेल सञ्चालनमा अर्को महत्त्वपूर्ण फड्को मारेको भारतीय रेलले जनाएको छ । यो रेलमा दुईवटा ‘हाइड्रोजन ड्राइभिङ पावर कार’ र आठ ट्रेलर कोच छन् । 

प्रत्येक पावर कारमा ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’, लिथियम आइरन फस्फेट ब्याट्री र हाइड्रोजन भण्डारण सिलिन्डर जडान गरिएको छ । प्रत्येक पावर कारले १ हजार २ सय किलोवाट विद्युत् उत्पादन गर्नेछ । दुवै पावर कारको संयुक्त क्षमताले रेललाई अधिकतम १ सय १० किलोमिटर प्रतिघण्टाको डिजाइन गतिमा सञ्चालन गर्न सक्नेछ । प्रारम्भिक सञ्चालन गति ७५ किलोमिटर प्रतिघण्टा तोकिएको छ ।

रेल सञ्चालनका लागि हरियाणाको जिन्दमा भारतकै सबैभन्दा ठूलो रेल हाइड्रोजन रिफ्युलिङ केन्द्र निर्माण गरिएको छ । उक्त केन्द्रमा इलेक्ट्रोलाइसिस प्रविधि अर्थात् विद्युत्को माध्यमबाट पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरी हाइड्रोजन उत्पादन गरिन्छ । त्यसपछि हाइड्रोजनलाई ५०० बार दबाबमा संकुचित गरी भण्डारण गरिन्छ र ३ सय ५० बार दबाबमा रेलमा भर्ने व्यवस्था गरिएको छ । केन्द्रमा करिब तीन हजार केजी हाइड्रोजन भण्डारण गर्न सकिने भारतीय रेलले जनाएको छ ।

हाइड्रोजन अत्यधिक ज्वलनशील ग्यास भएकाले सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । रेल तथा रिफ्युलिङ केन्द्रमा हाइड्रोजन चुहावट, ताप, आगो र धूवाँ पत्ता लगाउने अत्याधुनिक सेन्सर जडान गरिएको छ । कुनै असामान्य अवस्था देखिए हाइड्रोजन आपूर्ति स्वतः बन्द हुने प्रणाली राखिएको छ । 

आकस्मिक अवस्थामा रेललाई सुरक्षित स्थानसम्म लैजान सकिने सुविधा तथा सम्पूर्ण प्रणालीको अवस्थाबारे वास्तविक समयमै जानकारी दिने डिजिटल निगरानी प्रणाली पनि उपलब्ध गराइएको छ । भारतको राष्ट्रिय हरित हाइड्रोजन अभियान तथा दीर्घकालीन शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

भारतमा हाइड्रोजन रेल सञ्चालनमा आउँदा यता नेपालमा पनि पूर्वाधार विकास मन्त्रालयले मुलुकमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमन गर्न आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्न सुझाव मागेको छ । 

‘मुलुकमा हाइड्रोजनमा आधारित सवारीको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशानिर्देश, हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकाससम्बन्धी सुझाव आमन्त्रण गरेको,’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

२० साउनसम्म विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरोकारवालाहरूलाई आफ्नो अनुभव, अध्ययन, अनुसन्धान तथा व्यावहारिक अभ्यासका आधारमा लिखित सुझाव बुझाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । 

हाइड्रोजनमा आधारित सवारीसाधनसम्बन्धी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास तथा सिकाइ, नीतिगत, कानुनी तथा नियामक व्यवस्थासम्बन्धी सुझाव, उत्पादन, भण्डारण, ढुवानी, वितरण, इन्धन भर्ने पूर्वाधार तथा सवारी सञ्चालनसँग सम्बन्धित सुरक्षा मापदण्ड एवं दिशानिर्देश, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने तथा अन्य सवारीसाधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, आवश्यकता, लागत, सुरक्षा तथा नियामक पक्षसम्बन्धी सुझाव समेटिनुपर्ने उल्लेख छ । 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully