कार्गो रेलको सुरुआतले पूर्वी नेपालका उद्योगमा ढुवानी खर्च ४० प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ, जसले उत्पादन लागतमा ठूलो प्रभाव पार्नेछ ।
What you should know
विराटनगर — तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ अब भारतको कोलकाता बन्दरगाहबाट सिधैं रेलमार्फत विराटनगर भन्सारसम्म ल्याउन सकिने भएको छ ।
नेपाल–भारत पारवहन व्यवस्थाअन्तर्गत पहिलोपटक औपचारिक रूपमा सुरु गरिएको यस्तो कार्गो रेल सेवा शुक्रबारबाट सञ्चालनमा आएको हो । शुक्रबार मध्यराति कोलकाताबाट छुटेको ४० वटा ४० फिट क्षमताका कन्टेनर बोकेको पहिलो रेल सोमबार दिउँसो विराटनगर आइपुगेको हो ।
पूर्वी नेपालको औद्योगिक क्षेत्रका लागि यो सेवालाई ढुवानी प्रणालीमै संरचनागत परिवर्तनको सुरुवातका रूपमा हेरिएको छ । सेवाअन्तर्गत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि कच्चा पदार्थ बोकेका कन्टेनर कोलकाताबाट विराटनगर पठाइएको हो । कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर रेललाई बिदाइ गरेका थिए ।
महावाणिज्यदूत आचार्यका अनुसार भारत सरकारले हालै आवश्यक नीतिगत व्यवस्था गरेपछि पहिलोपटक कोलकाताबाट सिधैं विराटनगरसम्म रेल ढुवानी सम्भव भएको हो । ‘रेल शुक्रबार मध्यराति छुटेको हो । सोमबार दिउँसो विराटनगर पुगेको हो,’ उनले भने,‘रेलको आगमनपछि करिब दुई वर्षअघि उदुघाटन भएर पनि प्रयोगविहीन रहेको पूर्वाधारले पनि अब व्यावसायिक उपयोग पाउने छ ।’ उनका अनुसार पर्याप्त कार्गो सुनिश्चित भए सेवा नियमित हुने भारतीय पक्षको भनाई छ ।
रेलमा रहेका सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ । यसबाट ढुवानीको अवस्थालाई वास्तविक समयमा निगरानी गर्न सकिने भएकाले सुरक्षा र पारदर्शिता बढ्ने विश्वास गरिएको छ ।
भारतको बथनाहादेखि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्मको कार्गो रेल सेवा २०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटनपछि परीक्षणका रूपमा एउटा रेल विराटनगर आएको थियो । त्यसयता भने रेल सेवा पूर्ण रूपमा ठप्प थियो ।
रेलमार्ग निर्माण भइसके पनि तेस्रो मुलुकबाट आउने मालवाहक कन्टेनरलाई कोलकाता बन्दरगाहबाट सिधैं विराटनगरसम्म ल्याउने कानुनी तथा भन्सारसम्बन्धी व्यवस्था थिएन । त्यसैले रेलमार्ग भएर पनि उद्योगीले त्यसको लाभ लिन सकेका थिएनन् ।
भारत सरकारले नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत आवश्यक नीतिगत संशोधन गरेपछि मात्रै यो अवरोध हटेको हो । भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) ले ४ नोभेम्बर २०२५ मा ईसीटीएससम्बन्धी नियम संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ल्याउन अनुमति दिएको थियो ।
त्यसपछि कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको हो । ‘त्यसकै परिणामस्वरूप पहिलो व्यावसायिक रेल अहिले विराटनगर पठाइएको हो’, महावाणिज्यदुत आचार्यले भने ।
नेपाल र भारतबीच २०६१ सालमा बिहारको बथनाहादेखि मोरङको कटहरीसम्म १८ दशमलव ७ किलोमिटर लामो कार्गो रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यसअनुसार पहिलो चरणमा बथनाहादेखि विराटनगर आईसीपीस्थित नेपाल भन्सार यार्डसम्म ७ दशमलव ६ किलोमिटर रेलमार्ग निर्माण गरिएको हो ।
पूर्वाधार तयार भए पनि सञ्चालन प्रक्रिया लामो समयसम्म अन्योलमा रहँदा उद्योगी–व्यवसायीले अपेक्षित लाभ पाउन सकेका थिएनन् । सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका अधिकांश उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल भित्रिन्छ । विराटनगर नाकाबाट दैनिक तीन सयभन्दा बढी ट्रक र कन्टेनर नेपाल प्रवेश गर्छन् । यही ढुवानी अब रेलमार्फत हुन थालेपछि लागत उल्लेख्य रूपमा घट्ने उद्योगीहरूको विश्वास छ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार रेलमार्फत ढुवानी गर्दा सडक मार्गको तुलनामा करिब ४० प्रतिशतसम्म लागत घट्ने अनुमान छ । ‘यो पूर्वी नेपालको उद्योगका लागि ठूलो उपलब्धि हो’, राठीले भने,‘अब नियमित सेवा सञ्चालन हुन सके उद्योगको उत्पादन लागत नै घट्न सक्ने सम्भावना छ ।’ यसअघि गरिएको अध्ययनअनुसार कोलकातादेखि विराटनगरसम्म औद्योगिक कच्चा पदार्थ रेलबाट ल्याउँदा प्रतिकिलो भारु करिब दुई रुपैयाँ मात्रै खर्च पर्ने अनुमान गरिएको थियो । यो ट्रक वा कन्टेनरमार्फत हुने ढुवानी खर्चभन्दा करिब ४० प्रतिशत कम हो ।
नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडाले रेलमार्फत ढुवानी गर्दा समय, लागत र सुरक्षामा एकैसाथ सुधार आउने अपेक्षा गरे । ‘सडकको तुलनामा सामान सुरक्षित हुन्छ । ढुवानी अवधि करिब २४ घण्टामा सीमित हुन सक्छ’, शारडाले भने,‘बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन र ढिलाइ शुल्क पनि घट्छ ।’ उनका अनुसार यसले पूर्वी नेपालका उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन महत्वपूर्ण योगदान पुर्याउनेछ ।
पहिलो रेल आउनु सकारात्मक सुरुवात भए पनि सेवा नियमित हुने वा नहुनेमा उद्योगीको वढी चासो छ । पर्याप्त कार्गो, निश्चित समयतालिका र भन्सार प्रक्रियाको सहजतामै सेवाको भविष्य निर्भर रहने उनीहरूको भनाइ छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार यसले व्यवसायिक रुपमा र उद्योगहरुले कच्चा पदार्थ आयात गर्दा ढुवानी लागत र समय दुवै बचत हुनेछ । ‘भोलिका दिनमा निर्यातका लागि पनि यो प्रभावकारी बन्न सक्छ’, राठीले भने,‘ट्रक भन्दा पनि रेलबाटै पठाउँदा सजिलो र सस्तो हुन्छ ।’
महावाणिज्यदूत आचार्यले व्यवसायीबाट पर्याप्त कार्गो आए सेवा नियमित हुने बताए । ‘अबको सबैभन्दा ठूलो चुनौती नियमितता सुनिश्चित गर्नु हो,’ उनले भने,‘सेवा नियमित भयो भने कोलकाता बन्दरगाहबाट आउने अधिकांश औद्योगिक कच्चा पदार्थ रेलमार्फत विराटनगरसम्म ल्याउन सकिनेछ ।’
