१ साउनसम्म देशभर ९५ लाख ८५ हजार ७४ हेक्टर रोपाइँ
What you should know
काठमाडौँ — देशभर पछिल्लो पाँच दिनमा रोपाइँमा उल्लेख्य प्रगति भएको छ । देशभर २६ असारसम्म ४९ प्रतिशत रहेको रोपाइँ १ साउनसम्म २० प्रतिशतले बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले जनाएको छ । यसअनुसार देशभर हालसम्म ६९.७७ प्रतिशत रोपाइँ सकिएको छ । १ साउनसम्म ९५ लाख ८५ हजार ७४ हेक्टर रोपाइँ भएको विभागको तथ्यांक छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा भएको छ । यस प्रदेशमा ९०.६७ प्रतिशत रोपाइँ सकिएको छ । त्यसपछि लुम्बिनीमा ८०.६५, गण्डकीमा ७८.३६, बागमतीमा ७७.३३, कर्णालीमा ७७.०५ र मधेशमा ५७.९३ प्रतिशत रोपाइँ भएको छ । कोशीमा भने ५४.८६ प्रतिशत रोपाइँ सकिएको विभागको तथ्यांक छ ।
कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये १ लाख ५१ हजार ६ सय ९१, मधेशमा ३ लाख ८२ हजार ४ सय ३३ हेक्टरमध्ये २ लाख २१ हजार ५ सय ४६ तथा बागमतीमा १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ८८ हजार ५ सय ५७ मा रोपाइँ सकिएको विभागको तथ्यांक छ । गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ७३ हजार ३ सय ४९, लुम्बिनीमा ३ लाख १३ हजार ३ सय ७२ हेक्टरमध्ये २ लाख ४३ हजार ४२, कर्णालीमा ४३ हजार २ सय ९० हेक्टरमध्ये ३३ हजार ३ सय ५३ तथा सुदूरपश्चिममा १ लाख ६२ हजार २ सय २० हेक्टरमध्ये १ लाख ४७ हजार १ सयमा रोपाइँ सकिएको छ ।
गत वर्ष ४ साउनसम्म ७२.१४ प्रतिशत रोपाइँ सकिएको थियो । विगतका वर्षको तुलनामा यस वर्ष मनसुन सरदरभन्दा ६ दिन ढिलो भित्रिएको थियो । नेपालमा सामान्यतया मनसुन १३ जुनमा प्रवेश गर्ने भए पनि यस वर्ष १९ जुनमा मात्रै भित्रिएकाले समयमै रोपाइँ हुन नसक्ने अनुमान थियो । तर गत वर्षकै तुलनामा यस वर्ष पनि रोपाइँ भइरहेको तथ्यांकले देखाएको छ ।
गत वर्ष ७ भदौसम्म ९५.५४ प्रतिशत रोपाइँ भएको थियो । पछिल्लो एक सातादेखि भएको वर्षाका कारण मधेशमा रोपाइँ प्रतिशत बढेको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताए । ‘रोपाइँ किसानको तयारी र प्राकृतिक अवस्थामा निर्भर हुन्छ । पछिल्लो एक सातामा पानी परेकाले रोपाइँ हुने क्षेत्रफल पनि बढेको छ,’ उनले भने ।
तर कतिपय स्थानमा पर्याप्त पानी नपरेका कारण रोपाइँ नभएको किसानको गुनासो छ । लामो समयदेखि परेको खडेरीले खोला आसपासका मुहान सुकेका र पर्याप्त वर्षा नभएकाले समयमै रोपाइँ गर्न नपाएको सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका किसान कृतिबहादुर रानाले जनाए ।
समयमै वर्षा हुन नसके पनि जिल्लाभर ८० प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए ।
मनसुनी वर्षा पर्याप्त नहुँदा पम्पबाट सिँचाइ गरी रोपाइँ थालिएको बर्दिया बढैयाताल–२ का किसान धनबहादुर खत्रीको भनाइ छ । गत वर्ष १५ असार अगावै रोपाइँ गरिए पनि यस वर्ष ढिलो भएको उनले जनाए । बर्दिया कृषि तथा पशुपन्छी विकास कार्यालय प्रमुख कमला अधिकारीले भने यस वर्ष करिब एक सातामा शतप्रतिशत धान रोपाइँ हुने बताइन् । ‘बर्दियामा ९० प्रतिशत रोपाइँ भइसकेको छ,’ उनले भनिन्, ‘एक साताभित्र शतप्रतिशत रोपाइँ सकिन्छ ।’
