विराटनगर भन्सारको राजश्व असुलीमा सुधार

विराटनगर भन्सारलाई गत आर्थिक वर्षका लागि ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो।

श्रावण २, २०८३

पर्वत पोर्तेल

Improvement in revenue collection at Biratnagar Customs

विराटनगर — विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा निर्धारण गरिएको राजश्व लक्ष्यको ८५ दशमलव ५२ प्रतिशत मात्र संकलन गर्न सकेको छ। यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व असुलीको प्रतिशतमा सुधार देखिएको छ।

प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षका लागि ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। त्यसमध्ये ३५ अर्ब ३६ करोड रुपैयाँ राजश्व असुल भएको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा विराटनगर भन्सारले लक्ष्यको ८० दशमलव ५१ प्रतिशत राजश्व मात्र संकलन गरेको थियो। यस आधारमा चालु वर्षको असुली दर ५ दशमलव ०१ प्रतिशत बिन्दुले बढेको देखिन्छ।

तर, लक्ष्यको करिब ६ अर्ब रुपैयाँ बराबर राजश्व संकलन हुन नसक्दा निर्धारित लक्ष्य भने पूरा हुन सकेन। लक्ष्यको तुलनामा असुलीमा सुधार आए पनि राजश्व संकलन अझ प्रभावकारी बन्न सकेको देखिँदैन। 

राजश्व संकलन बृद्धिका लागि आयात–निर्यात गतिविधि, व्यापारिक वातावरण तथा भन्सार प्रशासनको कार्यक्षमतामा थप सुधारको खाँचो रहेको सरोकारवालाले जनाएका छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully