भैरहवा भन्सारले सबैभन्दा धेरै राजश्व अटोमोबाइल्सको आयातबाट प्राप्त गरेको छ ।
भैरहवा — मुलुकको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा १ खर्ब ५ अर्ब २ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यो संकलन भैरहवा भन्सारको लक्ष्यको ९२ दशमलव ४ प्रतिशत हो ।
भैरहवा भन्सार कार्यालयका अनुसार आव २०८२/०८३ मा १ खर्ब १३ अर्व ६७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो ।
अघिल्लो आव २०८१/०८२ को तुलनामा आव २०८२/०८३ मा १३ दशमलव २ प्रतिशतले बढी राजश्व संकलन भएको छ । अघिल्लो आवमा ९२ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले बताए ।
‘यस पटकको यो राजश्व संकलनलाई समग्रमा राम्रो नै मान्नुपर्छ,’ पौडेलले भने, ‘भैरहवा नाकामा अत्याधिक हुने जाम, ओभरलोड जरीवाना लगायतका कारणले भैरहवा नाकाको विकल्पमा कैयन् मालवाहक गाडीले नाका परिवर्तन गर्दा पनि यो राजश्व संकलन हुनु राम्रो हो ।’
उनका अनुसार भैरहवा भन्सारले सबैभन्दा धेरै राजश्व अटोमोबाइल्सको आयातबाट प्राप्त गरेको छ । कुल राजश्व संकलनमा अटोमोबाइल्सको योगदान करिब २५ प्रतिशत छ । दोस्रो योगदानमा फलामे छडको कच्चा पदार्थ स्पन्ज आइरनलगायत फालामका पदार्थबाट करिब १३ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट करिब ८ प्रतिशत योगदान छ ।
२०८२/०८३ मा भन्सार बिभागले ५ खर्ब ८८ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा भैरहवा भन्सारलाई लक्ष्यको १९ दशमलव ३ प्रतिशतको जिम्मेवारी दिइएको थियो । चालु आव २०८३/०८४ मा भैरहवा भन्सारले १ खर्ब २२ अर्व रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको छ । राजश्व असुली दृष्टिले भैरहवा भन्सार वीरगञ्जपछिको दोस्रो ठूलो भन्सार हो ।
